सामग्रीमा जानुहोस्
बुधबार, मंसिर २, २०८३
एनपिएल

लुम्बिनी लागतार दोस्रो पटक फाइनलमा, सुदूरपश्चिम ६ विकेटले पराजित

डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा पुगेको छ। मंगलबार भएको साँझ भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनी लगातार दोस्रो पटक फाइलनमा पुगेको हो।

यो जितसँगै लुम्बिनीले सुदूरपश्चिमविरुद्ध जितको ह्याट्रिक पनि गरेको छ। लुम्बिनीको तीनै जित एकपक्षीय रह्यो। लुम्बिनीले अघिल्लो पटकको फाइनल र यो सिजनको समूह चरणमा पनि सुदूरपश्चिमलाई सहजै हराएको थियो।

सुदूरपश्चिमसँग फाइनल पुग्ने अर्को अवसर पनि हुनेछ। अब उसले चितवन राइनोज र काठमाडौं गोर्खाजबीचको एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खल्ने छ।

१०६ रनको झिनो लक्ष्य लुम्बिनीले २० बल बाँकी छँदा ४ विकेटको क्षतिमा भेट्टायो। उसका लागि श्रीलंकन खेलाडी निरोशन डिक्वेलाले नटआउछ अर्धशतक बनाए। उनले ३७ बलमा ७ चौका र २ छक्का मद्दतमा ५९ रन बनाए। यस्तै, कप्तान रोहित पौडेलले २१ र दिलिप नाथले १० रन बनाए।

बलिङमा सुदूरपश्चिमका थरिन्दु रत्नानायकेले २ तथा स्कट कुगुलेइन र हेमन्त धामीले समान १ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको ट८ विकेटको क्षतिमा १०५ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ३ चौका र १ छक्का मद्दतमा ५२ रन बनाए। दीपेन्द्रको यो जारी सिजनको तेस्रो अर्धशतक हो।

दीपेन्द्रबाहेक इशान पाण्डेले २७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। इशान र दीपेन्द्रले ६६ रनको साझेदारी गरेका थिए।

सुदूरपश्चिमको इनिङ धरासायी बनाउने क्रममा लुम्बिनीका रुबेन ट्रम्पलमेन र शेर मल्लले समान २ विकेट लिए। ट्रम्पलमेनले ४ ओभरमा १४ रन खर्चिए भने मल्लले २७ रन खर्चिए। यस्तै, अविशेष गौतमले ४ ओभरमा ११ रन मात्र खर्चेर १ र किशोर महतोले १९ रन खर्चेर १ विकेट नै लिए।

सेयर गर्नुहोस्

1.3KShares