धोनीले आईपीएल खेल्ने

28 Oct, 2024
Share:
117 Shares

आईपीएल २०२५ को सिजनको तयारी सुरु भइसकेको छ र केही दिनमा फ्रेन्चाइजीहरूले खेलाडीलाई रिटेन गर्ने र रिलिज गर्ने निर्णय गर्दै छन्।

आसन्न आइपीएलमा यस पटक पनि सबैको नजर सफल फ्रेन्चाइजी क्लब चेन्नाई सुपर किंग्सका पूर्व कप्तान महेन्द्र सिंह धोनीमा हुनेछ। सबै फ्रेन्चाइजीले ३१ अक्टोबरसम्ममा रिटेन गरिएका खेलाडीको सूची बुझाउनुपर्नेछ।

चेन्नाईले यस वर्ष धोनीलाई अनक्याप्ड प्लेयरको रूपमा राख्नेछ, जसले उनलाई टोलीमा सामेल हुन जारी राख्ने मार्ग प्रशस्त गर्नेछ। धोनीले आईपीएल २०२४ अघि सीएसकेको कप्तानी छोडेर रुतुराज गायकवाडलाई टोलीको कमाण्ड सुम्पेका थिए। जसका कारण उनको भविष्यको बारेमा अड्कलबाजी गरिएको थियो।

अब धोनी आफैले आईपीएल २०२५ खेल्ने संकेत गरेका छन् । उनले पछिल्लो केही वर्षमा खेलाडीको रुपमा खेलेको जुनसुकै क्रिकेटको मजा लिन मन लागेको बताएका छन्।

‘मैले पछिल्ला केही वर्षमा जति पनि क्रिकेट खेल्न पाएको छु त्यसको मजा लिन चाहन्छु । म खेलको रमाइलो गर्न चाहन्छु जसरी बाल्यकालमा हामी साँझ चार बजे बाहिर निस्केर खेल्थ्यौं, खेलको मजा लिन्थ्यौं,’ धोनीले भने, ‘जब तपाइँ व्यावसायिक रूपमा खेल खेल्नुहुन्छ, कहिलेकाहीँ यसलाई मजा लिन गाह्रो हुन्छ । मैले गर्ने सबै कुरामा भावना र प्रतिबद्धताहरू समावेश छन्, तर म आगामी केही वर्षसम्म खेलको आनन्द लिन चाहन्छु।’

भर्खरै, चेन्नई सुपर किंग्सका मुख्य कार्यकारी अधिकारी कासी विश्वनाथनले पनि आउँदो सिजनमा धोनी एक खेलाडीको रूपमा टोलीमा हुनेमा आफू आशावादी रहेको बताएका थिए। धोनीले २०२३ मा बायाँ घुँडाको शल्यक्रिया गरिसकेपछि २०२४ को आईपीएल सिजनमा तलको क्रममा ब्याटिङ गरेका थिए।