आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले क्यानडाविरुद्ध टस हारेको छ।
ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपरान्ह सवा ११ बजेदेखि सुरु हुने खेलमा क्यानडाका कप्तान हमजा तारिकले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । सन्दीप जोराको स्थानमा गुल्शन झा टोलीमा फर्किएका छन्।
जारी शृङ्खलामा नेपालले यसअघि क्यानडा र ओमान दुवैलाई हराइसकेको छ। क्यानडाले सुरुवाती दुई खेलमा ओमान र नेपालसँग हार बेहोरेपछि बिहीबार ओमानलाई पराजित गरेको थियो।
आजको खेलमा नेपालले क्यानडालाई पराजित गरे नेपाल छैटौं हुने पक्का हुनेछ। यदि नेपाल पराजित भएमा क्यानडा छैटौंमा उक्लनेछ र नेपालले अन्तिम खेलमा ओमानलाई हराउनुपर्नेछ ।
लिग २ अंकतालिकामा नेपाल ३४ खेलबाट २८ अंकसहित छैटौं स्थानमा छ भने क्यानडा ३५ खेलबाट २७ अंकसहित सातौंमा छ।
प्लेइङ ११ : आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, इशान पान्डे, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने, नन्दन यादव, ललित राजवंशी।
