लागातारको दुई हार बिर्साउने प्रयासमा नेपाल

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको क्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली ओमानसँग खेल्दै छ । खेल ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा दिउँसो ४ः१५मा हुनेछ।

विश्वकप लिग २मा ओमानविरुद्ध निरन्तर असफल भइरहेको नेपाल ओमानविरुद्ध जितको खोजीमा हुनेछ भने ओमानमै दोस्रो जितको खोजीमा ।

यो सिरिजमा नेपालले तीन मध्ये १ खेल मात्र जितेको छ। पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल त्यसपछि ओमानसँग ५ विकेट र अमेरिकासँग ६ विकेटले पराजित भएको थियो।

नेपालले ओमानविरुद्ध अहिलेसम्म एकदिवसीयमा जित निकाल्न सकेको छैन, त्यसैले नेपाल ओमानविरुद्ध पहिलो जिततको खोजीमा छ । यो जितले प्रशिक्षक डेभ वाटमोरलाई सुखद बिदाइ पनि हुनेछ। उनले सिरिजअघि नै नेपाल क्रिकेट संघ क्यानलाई राजीनामा पठाउँदै ओमानको सिरिज नै आफ्नो लागि अन्तिम हुने बताइसकेका छन् ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ले पनि सिरिजको अन्तिम खेल जित्दै टुरको सुखद अन्त्य गर्ने र प्रशिक्षकलाई पनि राम्रो फेरवेल दिने बताएका छन् । उनले ओमानविरुद्धको खेल जित्नुको विकल्प नरहेको बताए ।

लिग २मा ओमान १२ खेलबाट २० अंकसहित शीर्ष स्थानमा छ । १५ खेल खेलिसकेको अमेरका १४ अंकसहित दोस्रो स्थानमा छ । ७ खेल खेलेको नेपाल तीन खेल जित्दै ६ अंक जोडेको छैटौं स्थानमा छ । लिग टू मा ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् जसमा पपुवा न्यु गिनी ८ खेलमै पराजित हुँदै अंकविहीन छ ।

लिग टू मा ७ वटै टिमले ९ सिरिजसहित ३६ खेल खेल्नेछ । नेपालले ओमान टुरपछि अझै ७ सिरिज खेल्न बाँकी छ ।

Facebook Comments Box