गुल्सन र रोहितको अर्धशतकमा नेपालले दियो ओमानलाई १८५ रनको लक्ष्य

5 Nov, 2023

काठमाडौं, कात्तिक १९ गुल्सन झा र कप्तान रोहितकुमार पौडेलले आकर्षक अर्धशतक प्रहार गरेपछि नेपालले टि–२० विश्वकप छनोटको फाइलनमा ओमानलाई १८५ रनको विशाल लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १८४ रन बनायो।

नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४ रन बनाए। विस्फोटक ब्याटिङ गरेका उनले २५ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै, कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक बनाए । रोहितले ३५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५२ रन बनाए।

१० ओभरमा ६० रन बनाउँदा ४ विकेट गुमाएको नेपालका लागि यी दुईले पाँचौं विकेटका लागि ७८ रनको उत्कृष्ट साझेदारी गरेका थिए।

यस्तै, अन्त्यमा करण केसीले ६ बलमा १ चौका र २ छक्का प्रहार गदैृ २० रन बनाउँदा कुशल भुर्तेलले २२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३१ बनाए।

ओमानका बिलाल खानले ३ विकेट लिए भने अकिब इलियासले २ विकेट लिए।