घरेलु मैदानमा जारी टि–२० विश्वकपको समूहको अन्तिम खेलमा नेपाल पराजित भएको छ। बिहीबार बिहान कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भयो।

यो सँगै नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको छ। अब नेपालले फाइनल पुग्न समूह बीको विजेतासँग खेल्ने छ। यता, ओमान भने समूह विजेताका रुपमा सेमिफाइनल पुगेको छ।

पहिला ब्याटिङ गर्दै ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम बलमा अलआउट हुँदै १४० रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा जितका लागि २६ रन चाहिएको अवस्थामा विवेक यादवले सुरुआती तीन बलमा छक्का प्रहार गर्दै नेपालको जितको आशा जगाएका थिए।

उनले सर्वाधिक ३९ रन बनाए। उनले २४ बलमा ५ छक्का प्रहार गरे। यस्तै, कुशल भुर्तेलले १८ बलमा २६ रन बनाउँदा करण केसीले ११ बलमा १५ रन बनाए। सोमपाल कामी, रोहितकुमार पौडेल र सन्दीप जोराले समान १२ रन बनाए।

ओमानलाई जित दिलाउन बिलाल खानले ३ विकेट लिए भने सकील अहमद, मेहरान खान र याकुव इलियासले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनायो । उसका लागि कप्तान जिसन मक्सुदले सर्वाधिक ३२ रन बनाए भने नसिम खुर्सीले २५, प्रतिक अथवलेले २४ र सकील अहमदले २२ रन बनाए।

नेपालका करण केसीले २ तथा सोमपाल कामी, सन्दीप लामिछाने समान २ विकेछ लिए।

Back To Top