१२ वर्षपछि नेपालले अफगानिस्तानलाई हरायो

25 Sep, 2026
Share:
117 Shares

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हराएको छ।

सन् २०१४ को टि–२० विश्वकपछि पहिलो पटक अफगानिस्तानलाई हराउने एसियन गेम्सको पहिलो खेलमा ५ विकेटको जित निकाल्यो।

जापानमा अफगानिस्तानले दिएको १०३ रनको सामान्य लक्ष्य नेपालले ५ विकेटको क्षतिमा १६ बल बाँकी छँदै भेट्टायो। नेपालका लागि सन्दीप जोराले ३५ बलमा ३ चौका र १ छक्का मद्दतमा ३४ रन बनाए।

यस्तै, रोहितकुमार पौडेलले ३२ बलमा ४चौका मद्दतमा नटआउट ३३ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए। यी दुईले पाँचौं विकेटका लागि ४६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

बलिङमा अफगानिस्तानका फरिदून दविदजाइ, अब्दुल्लाह अमदजाइ र अराब गुलले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरका ७ विकेटको क्षतिमा १०२ रन मात्र बनाउन सक्यो। उसका लागि फैसल खान र नाजिबुल्लाह जद्रानले समान ३० रन बनाए।

अफगानिस्तालाई सस्तैमा रोक्ने क्रममा नेपालका कुशल भुर्तेल र ललित राजवंशीले घातक बलिङ गरे। कुशलले ४ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ४ विकेट लिँदा ललितले १३ रन मात्र खर्चेर ३ विकेट लिए।

नेपालले अब शनिबार जापानसँग खेल्नेछ। समूहबाट शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।

क्वाटरफाइनलमा नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीको सामना गर्ने छ ।

यसअघिको एसियन गेम्समा पनि नेपाल क्वाटरफाइनलमा भारतसँग पराजित भएको थियो ।