रोबिन उथप्पा मुम्बई इन्डियन्सको ब्याटिङ प्रशिक्षक बनेका छन्।
मुम्बई इन्डियन्सले भारतका पूर्व क्रिकेटर तथा आफ्नै पूर्व खेलाडी उथप्पालाई ब्याटिङ प्रशिक्षक बनाएको हो। आगमी सिजन उनले मुख्य प्रशिक्षक कायरन पोलार्डलाई सहयोग गर्नेछन्।
उथप्पाले सन् २००८ मा आईपीएलको पहिलो संस्करणमा मुम्बईबाट खेलेका थिए। सन् २००७मा पहिलो टि–२० विश्वकप उपाधि भारतले जित्दा उथप्पा टिमका सदस्य थिए।
उथप्पासँगै मुम्बईले न्युजिल्यान्डका मिचेल म्याक्लेनाघनलाई बलिङ प्रशिक्षक, टी दिलीपलाई फिल्डिङ प्रशिक्षक र धवल कुलकर्णीलाई डेभलपमेन्ट बलिङ प्रशिक्षक नियुक्त गरेको छ। मिचेल र कुलकर्णी मुम्बईकै पूर्वखेलाडी हुन्। टि दिलिप भारतीय टिमका पूर्व फिल्डिङ प्रशिक्षक हुन्।
पछिल्ला केही सिजन यता खराब प्रदर्शन गरिरहेको मुम्बईले नयाँ सिजनका लागि पोलार्डको नेतृत्वमा नयाँ कोचिङ टिम बनाएको छ।
यसअघि मुम्बईमा माहेला जयबर्धने मुख्य प्रशिक्षक, लासिथ मालिंगा बलिङ र कार्ल हप्किन्सन फिल्डिङ प्रशिक्षक थिए।
