विश्वकपमा छनोट भएका यू–१९ टिमका सावित्री र स्नेहा कञ्चनपुरमा सम्मानित

23 Nov, 2024
Share:
117 Shares

विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ।

महेन्द्रनगरस्थित होली फेम्ली क्रिकेट एकेडेमीले यु–१९ महिला क्रिकेट टोलीका सदस्य सावित्री धामी र स्नेहा महरालाई जनही ३० हजारसहित सम्मान गरेको हो।

त्यसैगरी नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान विन्दु रावललाई ५० हजार र टोलीका सहायक प्रशिक्षक जानकी भट्टलाई ३० हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गरियो।

खेलाडीलाई सम्मान गर्दै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले खेलाडीहरुको मेहनतले देशकै प्रतिष्ठा जोगिएको उल्लेख गर्दै प्रदेश सरकारबाट खेलकुदको विकासका लागि पहल गरिने बताए।

यस्तै, जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले सरकारले क्रिकेटको विकासमा जोड दिनुपर्ने बर्ताए। उनले खेलाडीका लागि खेल मैदान पहिलो आवश्यकता रहेकाले प्रदेश सरकारले खेलमैदान निर्माणका लागि सहयोग गर्नुपर्ने बताए।

होली फेम्ली क्रिकेट एकेडेमीका अध्यक्ष भुपालसिंह विष्टले खेलाडीको हौसलाका लागि सम्मान गरिएको बताए।