क्रिकेटराष्ट्रिय क्रिकेट

नेपाली महिला टिम मलेसियासँग पराजित, सिरिज २–२को बराबरीमा

मलेसियामा जारी टि–२० सिरिजको चौथो खेलमा नेपाली महिला क्रिकेट टिम पराजित भएको छ। शनिबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित भयो।

यो पराजयसँगै ५ खेलको सिरिज २–२को बराबरीमा आएको छ। सिरिजको पहिलो खेलेमा मलेसिया ५ विकेटले विजयी भएको थियो भने दोस्रो खेल नेपालले ७ विकेटले जितेको थियो। यस्तै तेस्रो खेल नेपालले २७ रनले जितेको थियो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर भेटायो। उसका लागि विनिफ्रेड डुराइसिंगमल सर्वाधिक ३८ रनको योगदान गरिन् । यस्तै, महिराह इज्जाती इस्माइलले १६ रन, मास एलिशाले १३ रन बनाइन्।

नेपालका लागि कविता कुँवर, कप्तान रुविना क्षेत्री, सीता रानामगर र कविता जोशीले समान एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ९६ रनमात्र बनाउन सकेको थियो।

नेपालका लागि इन्दु बर्माले ३१ बलमा तीन चौकासहित सर्वाधिक ३२ रन बनाइन्। यस्तै, विन्दु रावलले २६ बलमा एक चौकासहित २४ रन बनाइन्।

कविता जोशी १२ रनमा नटआउट रहिन्। मलेसियाकी विनीफ्रेड आनीले तीन विकेट लिइन् ।

अब सिरिजकाे अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ।