प्रतिष्ठित नकआउट फुटबल प्रतियोगिता विराट गोल्डकपको पुरस्कार राशी यो पटकबाट झन्डै आधा घटाइएको छ।

आयोजकले आसन्न आठौं संस्करणको विजेता ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् बताएको छ। यसअघि विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएका थिए।

गतवर्ष गोल्डकप आयोजना गर्दा घाटा लागेका कारण यो वर्ष पुरस्कारको राशी घटाएको विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीले बताए । ‘यो पटक ट्रष्ट आफैंले प्रतियोगिता आयोजना गर्दैछ,’ उनले भने, ‘आर्थिक मन्दी र गत वर्ष घाटा भएका कारण यो वर्ष पुरस्कारको राशि घटाइएको हो।’

आठौं विराट गोल्डकप फुटबल प्रतियोगिता चैत १५ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगितामा १० टोली सहभागी हुनेछन्, टिमको टुंगो भने लागिसकेको छैन।

मैदान व्यवस्थापनदेखि सहभागी क्लबहरुसँग समन्वय गर्नेलगायतको काम भइरहेको उनले बताए । उनका अनुसार यो पटक पनि प्रतियोगिता रात्रिकालीन हुनेछ।

Back To Top