चेल्सी क्लब विश्वकपको क्वाटरफाइनलमा, सेमिफाइनल प्रवेशका लागि पाल्मेइरससँग खेल्ने

29 Jun, 2025
Share:
117 Shares

इंग्लिस क्लब चेल्सी अमेरिकामा जारी फिफा क्लब विश्वकपका क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको खेलमा पोर्चुगिज क्लब बेन्फिकामाथि ४–१को जित निकाल्दै चेल्सी अन्तिम ८मा पुगेको हो।

अब उसले सेमिफाइनल प्रवेशका लागि ब्राजिलियन क्लब पाल्मेइरससाग खेल्ने छ। पाल्मेइरस अर्को ब्राजिलियन क्लब बोटाफोगोलाई हराउँदै क्वाटरफाइनलमा पुगेको हो।

खेलमा चेल्सीका लागि कप्तान रेइस जेम्स, क्रिस्टोफर एनकुकु, पेड्रो नेटो र केइरनन डेवास्बुरी हलले गोल गरेका थिए। यता, बेन्फिकाका एन्जेल डि मारियाले गोल गरेका थिए।

निर्धारित सयमको खेल १–१को बराबरीमा सकिएपछि थप गरिएको ३० मिनेटको समयमा चेल्सीले जित निकालेको हो। खेलमा ६४औं मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। चेल्सी जिततर्फ अग्रसार भएको बेला इन्जुरी समयको पाँचौं मिनेटमा बेन्फिकाले पेनाल्टी पायो। जसमा डि मारियाले गोल गर्दै खेललाई बरारबीमा ल्याए।

थप गरिएको ३० मिनेटको सुरुआतमै बेन्फिका १० खेलाडीमा समेटिएपछि त्यसको फाइदा चेल्सीले उठायो। दोस्रो मिनेटमै उसका जिआनलुका प्रेस्टीआनीले रातो काड पाएका थिए।

त्यसपछि १०८ मिनेटमा एनकुकु, ११४ मिनेटमा नेटो र ११७ मिनटमा हलले गोल गरेपछि चेल्सीले ४–१को सहज जित निकाल्यो।