सामग्रीमा जानुहोस्
सोमबार, मंसिर ७, २०८३

जमाल मुसियालाको चोट र सम्झौतालाई लिएर बायर्नमाथि खेलाडी संघ फिफप्रोको कडा आपत्ति

विश्वव्यापी खेलाडीहरूको अधिकार र हित संरक्षण गर्ने संस्था फिफप्रोले जमाल मुसियालाको चोटपछि उनको सम्झौतालाई लिएर सार्वजनिक टिप्पणी गरेको भन्दै जर्मन क्लब बायर्न म्युनिखको नेतृत्वप्रति कडा आपत्ति जनाएको छ।

फिफप्रोले मुसियाला चोटबाट फर्किने क्रममा रहेका बेला बायर्नका पदाधिकारीहरूले उनको सम्झौतामाथि लगातार प्रश्न उठाएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको हो।

बायर्नका मानार्थ अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा पूर्वप्रमुख कार्यकारी अधिकृतले छोटो समयको अन्तरालमा सार्वजनिक रूपमा मुसियालाको सम्झौतामाथि प्रश्न उठाएका थिए।

फिफप्रोका अनुसार यो मुसियाला र उनका प्रतिनिधिहरूलाई सम्भावित सम्झौता वार्ताअघि दबाबमा पार्ने समन्वित रणनीति हुन सक्छ। बायर्नजस्तो प्रतिष्ठित क्लबले यस्तो व्यवहार गर्नु उचित नभएको संस्थाको भनाइ छ।

फिफप्रोले चोटबाट पुनरागमन गरिरहेका खेलाडीको मानसिक स्वास्थ्यमा क्लबको यस्तो सार्वजनिक टिप्पणीले थप दबाब सिर्जना गर्न सक्ने चेतावनीसमेत दिएको छ।

संस्थाले मुसियालाको सम्झौतासम्बन्धी कुनै पनि असन्तुष्टि सार्वजनिक रूपमा नभई उनी र उनका प्रतिनिधिसँग निजी रूपमा छलफल गर्नुपर्ने बताएको छ।

फिफप्रोले स्पष्ट पारेको छ कि चोट लाग्नु वा खेलाडीको प्रदर्शनमा गिरावट आउनुले क्लबलाई पहिले सहमति भएको सम्झौता पुनः खोल्ने अधिकार दिँदैन। त्यसैगरी, खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दैमा स्वतः पारिश्रमिक वृद्धि माग्ने अधिकार पनि प्राप्त गर्दैन।

फिफाको तहमा क्लब, लिग तथा खेलाडी संघहरूबीच सम्झौताको स्थिरता फुटबलको आधारभूत सिद्धान्त भएको सहमति रहेको उल्लेख गर्दै फिफप्रोले यसले खेलाडी र क्लब दुवैको हित संरक्षण गर्ने बताएको छ।

अन्त्यमा फिफप्रोले जमाल मुसियालाप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो सम्झौताप्रति इमानदार रहने सबै खेलाडीको पक्षमा उभिने स्पष्ट पारेको छ। साथै, क्लबहरूले पनि खेलाडीसँग भएका सम्झौताको सम्मान गर्नुपर्नेमा जोड दिएको छ।

सेयर गर्नुहोस्

983Shares