सामग्रीमा जानुहोस्
सोमबार, मंसिर ७, २०८३

मेसीले विपक्षी खेलाडीको अनुहारमा बलले हाने, रातो कार्ड नदिएपछि विवाद

अमेरिकन फुटबल लिग मेजर लिग सकर (एमएलएस)को प्लेअफमा इन्टर मियामी कोलम्बस क्रूविरुद्ध ३–० ले पराजित भएको खेलमा लियोनल मेसी विवादमा तानिएका छन्।

खेलको पहिलो हाफ सकिनैलाग्दा मेसीले विपक्षी खेलाडी गोन्जालो तापियाको अनुहारमा बल प्रहार गरेपछि उनलाई रातो कार्ड दिनुपर्ने हो वा होइन भन्ने बहस सुरु भएको छ।

मियामी १–० ले पछि परेको र टोलीका एक खेलाडीले रातो कार्ड पाएर मैदानबाट बाहिरिइसकेको अवस्थामा ३९ वर्षीय मेसीले तापियाको अनुहारतर्फ बल फ्याँकेका थिए। बलले अनुहारमा लागेपछि तापिया लडेका थिए। त्यसपछि रेफ्री एलेन च्यापम्यानले मेसी र तापिया दुवैलाई पहेँलो कार्ड देखाए।

कोलम्बसका प्रशिक्षक लरेन्ट कोर्टुवा भने मेसीलाई पहेँलो कार्ड मात्र दिनु पर्याप्त नभएको बताउँछन्। खेलपछिको पत्रकार सम्मेलनमा उनले मेसीले त्योभन्दा कडा सजाय पाउनुपर्ने धारणा राखे।

यता, रेफ्री च्यापम्यानले आफ्नो निर्णयको बचाउ गर्दै बल प्रहार गर्दा प्रयोग गरिएको बल नगण्य रहेको र उक्त घटना हिंसात्मक आचरणको श्रेणीमा नपरेको बताएका छन्।

खेलमा मियामीले सुरुवातमै पेनाल्टीमार्फत गोल खाएको थियो। तापियाले पेनाल्टीलाई गोलमा परिणत गरेपछि कोलम्बसले अग्रता लिएको थियो। दोस्रो हाफमा ताहा हाब्रुनले अर्को गोल थपे भने तापियाले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बसको ३–० को जित सुनिश्चित गरे।

यस हारसँगै इन्टर मियामी प्लेअफबाट बाहिरिने जोखिममा परेको छ। अब अर्को खेलमा जित निकाल्दै कोलम्बसले मेसीको टोलीलाई प्रतियोगिताबाट बाहिर पार्न सक्नेछ।

मेसीको पहेँलो कार्डले अहिले एउटा प्रश्न उठाएको छ- विपक्षी खेलाडीको अनुहारमा बल प्रहार गर्नु रातो कार्ड दिनुपर्ने गल्ती थियो कि रेफ्रीको निर्णय सही थियोरु

सेयर गर्नुहोस्

1.2KShares