महिला साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्ससँग खेल्दै

21 Oct, 2024
Share:
117 Shares

घरेलु मैदानमा जारी महिला साफ च्याम्पियनसिपमा नेपालले आज दोस्रो खेल खेल्दै छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने छ।

पहिलो खेलमा भुटानससँग बराबरीमा रोकिएको नेपाल आज जित्नै पर्ने दबाबमा हुनेछ। माल्दिभ्सविरुद्ध जित निकाल्न सके नेपालको सेमिफाइनल सम्भावना बलियो हुनेछ।

त्यसैले नेपाल माल्दिभ्सविरुद्ध मैदान उत्रँदा निश्चित जितको खोजीमा हुनेछ। भुटानविरद्ध खेलेका हिराकुमारी भुजेल र दीपा शाही नेपाली टिममा हुने छैनन्। दुवै भुटानविरुद्धको खेलमा घाइते भएका थिए।

स्टार स्ट्राइकर सावित्रा भण्डारीको आगमन भने नेपाली टिमका लागि सुखद् हुनेछ। फ्रान्समा व्यवसायिक लिग खेलिरहेकी सावित्रा आइतबार मात्र नेपाल आइपुगेकी हुन्। उनको आगमनले नेपालको अट्याकिङ लाइनअप बलियो बनेको छ।

यता, माल्दिभ्स पनि पहिलो जितको खोजीमा छ। उसलाई पनि सेमिफाइनल सम्भावना कायमै राख्न आज निश्चित जित चाहिएको छ। त्यसैले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ।

पहिलो खेलमा माल्दिभ्स श्रीलंकासँग १–०ले पराजित भएको थियो।