मुख्य प्रशिक्षक रोस महत्वाकांक्षी योजना : विदेशिएका खेलाडी फर्काउने, साफ जित्ने र एसियन कप खेल्ने

3 Mar, 2025
Share:
117 Shares

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले नेपाल छाडेर विदेशिएका खेलाडीहरू फर्कने दाबी गरेका छन्।

नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएपछि एन्फाले आयोजना गरेको अन्तक्र्रियामा रोसले विदेशिएका खेलाडी फर्किने बताउँदै उनीहरूका लागि देशको प्रतिनिधत्व गर्ने ढोका खोल्ने बताए।

‘खेलाडीहरू जो नेपाल छोडेर बाहिर गएका छन्, उनीहरू बाध्यताले विदेशिएका हुन् । उनीहरूका लागि पुनः राष्ट्रिय टिममा खेल्न ढोका खोल्न चाहन्छु। आफ्नो देशलाई प्रतिनिधित्व गर्नको बाटो खोल्ने प्रयासमा हुनेछु,’ उनले भने।

उनले खेलाडीहरूमा रहेको जोशलाई एकै ठाँउमा ल्याएर मैदानमा उतार्ने भन्दै यसपालीको साफ च्याम्पियनसिप जित्ने प्रयासमा लाग्ने बताए।

‘मेरो काम भनेको खेलाडीहरुमा रहेको जोशलाई एकै ठाँउमा ल्याएर मैदानमा उतार्नु हो। यसपालिको साफ च्याम्पियनसिप जित्न चाहन्छु,’ उनले भने।

नेपाललाई एसियन कपमा छनोट गराउन प्रयासम लाग्ने बताउँदै उनले यो कठीन भएको बताए। कठीन चुनौतीहरुको सामाना गर्न आफू तयार गरेको उनले बताए।

‘म नेपाली टिमलाई एसियन कपको नजिकभन्दा नजिक लगेर एसियन कपमा छनोट हुने प्रयासमा लाग्ने छु। चुनौतीपूर्ण नै भएपनि कोच भएपछि चुनौतीहरु मनपर्ने नै हुन्छ,’ मुख्य प्रशिक्षक रोसले अन्तक्र्रियामा भने।

यस्तै, उनले नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त हुन पाउँदा एकदमै खुसी लागेको बताए। उनले नेपाल एकदमै विशेष देश भएको उल्लेख गरे।

‘नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त हुन पाउनु एकदमै सम्मानको कुरा हो। यो एकदमै विशेष देशमा विशेष भूमिका हो,’ उनले भने, ‘नेपाल एउटा एकदमै राम्रो देश हो यहाँको मानिस यहाँको खाना, सम्मान सबै एकदमै राम्रो छ तपाईहरु सबै नेपालमा नै भएको हुनाले सायद तपाईहरुसँग के छ भन्ने कुरा थाहा नभएको होला तर मैले धेरै देशहरुमा काम गरेको हुनाले नेपालमा भएको जोश अविष्मरणीय छ।’

म्याट रोसको नेपाली टिमसँगको सम्झौता अवधि १ वर्षको छ।