सामग्रीमा जानुहोस्
शुक्रबार, कात्तिक २०, २०८३

एरिकालाई तीन लाख सहयोग

नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङले खेल विकास र अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि करिब तीन लाख रुपैयाँ सहयोग प्राप्त गरेकी छन्।

अस्ट्रेलियाको सिड्नीस्थित यात्रा रन क्लबले एरिकाको खेल विकासमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरेको आर्थिक संकलन अभियानबाट उक्त रकम संकलन गर्दै एरिकालाई प्रदान गरेको हो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कार्यकारी बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठको पहलमा एरिकालाई उक्त रकम प्रदान गरिएको नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा बुधबार एक कार्यक्रमका बीच राखेपका कार्यकारी सदस्य सुवालले एरिकालाई चेक हस्तान्तरण गरिन् । गत सेप्टेम्बर २० मा सिड्नीमा विशेष रन आयोजना गर्दै क्लबले सहयोग अभियान सञ्चालन गरेको थियो।

अभियानमार्फत संकलित करिब तीन लाख रुपैयाँ एरिकाको खातामा सिधै जम्मा गरिएको आयोजकले जनाएको छ । चेक हस्तान्तरण कार्यक्रममा एरिकाले उक्त सहयोगले आफ्नो आगामी यात्राका लागि ठूलो प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरिन्।

उनी १९औँ एसियाली खेलकुदमा रजत पदक विजेता हुन्। तर पछिल्लो संस्करण २०औँ एसियाली खेलकुदमा उनी पदकविहीन छन्। खराब दिन बिर्सेर आगामी प्रतियोगितामा सुखद नतिजा ल्याउने एरिकाले विश्वास गरेकी छन्।

नेपाल कराते महासंघका महासचिव दावा गुरुङले आगामी प्रतियोगितामा नेपाली खेलाडीले इतिहास बनाउने लक्ष्यसहित तयारी गरिने बताएका छन्।

सेयर गर्नुहोस्

1.4KShares