पारा ओलम्पिकमा कास्य जितसँगै पलेशाले पुरस्कार स्वरुप ६५ लाख पाउने

31 Aug, 2024
Share:
117 Shares

नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक कास्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले सरकारबाट पुरस्कार स्वरुप ६५ लाख रुपैयाँ पाउने भएकी छिन्।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार कास्य जितेकी पलेशाले सो रकम सरकारबाट पाउने भएकी हुन्। नियमावलीमा समर, विन्टर, पारा, विशेष ओलम्पिक्समा कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ दिने व्यवस्था छ।

सो नियमावलीमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख रुपैयाँ दिने व्यवस्था छ।

पलेशाले फ्रान्समा जारी पारा ओलम्पिक्समा सर्बियाकी खेलाडीलाई १५(८ ले हराउँदै कास्य पदक जितेकी थिइन्। उनी ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्।

यस्तै, सोही नियमावलीका आधारमा पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख ८५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने नेपाल तेक्वान्दो संघले ११ लाख ९२ हजार रुपैयाँ प्राप्त गर्नेछ।