दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

19 Mar, 2025
Share:
117 Shares

कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट आज सार्वजनिक गरिएको छ।

सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लोगो तथा राखेपका उपाध्यक्ष ध्रुव आचार्यले मस्कट सार्वजनिक गरे।

सोही अवसरमा राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले दसौँ राष्ट्रिय खेलकुदको डेकिकेटेड वेभसाइट सार्वजनिक गरे।  कार्यक्रममा राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक, व्यवस्थापकलगायतको अनलाइन दर्ता कसरी गर्ने भन्ने विषयमा जानकारी दिन खेलाडी अनलाइन दर्ता सफ्टवेयर भिडियो प्रदर्शन गरिएको थियो । लोगो र मस्कटलगायत विषयवस्तुलाई समेटी तयार पारिएको एनिमेटेड भिडियो पनि प्रदर्शन गरियो ।

लोगोमा कर्णाली नदी, नेपालको झण्डा, सात प्रदेश र खेलाडी, हिमाल, पहाड र तराई तथा शान्तिको प्रतिक परेवा समेटिएको छ । कर्णाली प्रदेशमा पाइने दुर्लभ जनावर हाबे्र (रेड पाण्डा) लाई मस्कटका रूपमा प्रयोग गरिएको छ ।

कार्यक्रममा मन्त्री चौधरीले राष्ट्रिय खेलकुदलाई लक्षित गरी तयार गरेको उत्कृष्ट पूर्वाधारका लागि कर्णाली प्रदेशलाई धन्यवाद दिए।

उनले  राष्ट्रिय खेल सङ्घलाई खेलाडी र खेलको हितलाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्दै खेलाडीको प्रतिभा देखाउने चाहनालाई मध्यनजर गरी राष्ट्रिय खेलकुद भव्य बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।

उपाध्यक्ष आचार्यले राष्ट्रिय खेलकुद प्रतिभा खोजीको माध्यम पनि भएको बताए।

सदस्य–सचिव घिसिङले राष्ट्रिय खेलकुदमा सहभागी हुन खेलाडी उत्साहित रहेकाले खेलाडीले खेल्न पाउने वातावरण बनाउन सम्पूर्ण सरोकारवाला एकढिक्का हुनुपर्नेमा जोड दिए।

दसौं राष्ट्रिय खेलकुद आगामी २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेश राजधानी सुर्खेतमा आयोजना हुँदैछ ।