सरकारलाई दाहालको चेतावनी– दशौं राष्ट्रिय खेलकुद पर सार्न राजनीति गर्ने भुल नगरियोस्

31 Aug, 2024
Share:
117 Shares

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताएका छन्।

शनिबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि अध्यक्ष दाहालले आगामी मंसिरमा तय गरिएको दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुनुपर्ने बताएका हुन्।

‘दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनैपर्छ, यसमा राजनीति गर्ने भुल सरकारले नगरोस्,’ उनले भने, ‘यसमा पनि राजनीति गरेर दशौं राष्ट्रिय खेलकुद पछि सार्न खोजियो भने त्यो हजारौं खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ।’

अध्यक्ष दाहालले निर्माणको अन्तिम चरणमा रहेको रंगशाला पश्चिम नेपालको खेल क्षेत्र र खेलाडीको वृत्ति विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

‘यो अहिलेसम्मका रंगशालामध्ये विभिन्न ठाउँमा देखिएका कमीकमजोरी सच्याएर आधुनिक प्रविधिको प्रयोग गरेर जुनरुपमा निर्माण करिब–करिब सम्पन्न हुने चरणमा गएको छ, यो हामी सबैका लागि खुशी र गौरवको कुरा हो,’ उनले भने, ‘माओवादी केन्द्रले प्रदेशको नेतृत्व गरेका बेला खासगरी मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मन्त्री बिमला केसीको पालामा यो रंगशालाई प्रदेशको गौरवको आयोजनाको रुपमा अघि सारिएकाले पनि यो हाम्रा लागि विशेष अर्थ र महत्वको छ।’

रंगशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको पाइएको उल्लेख गर्दै उनले यसको अत्यधिक सदुपयोग गर्नुपर्ने बताए।