४६४५ मिटर उचाइमा गल्फ प्रतियोगिता हुँदै

5 Aug, 2024
Share:
117 Shares

समुन्द्रि सतहदेखि चार हजार छ सय ४५ मिटर उचाइमा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा गल्फ प्रतियोगिताको आयोजना गरिएको छ।

लोवथाङमा हुने गल्फ प्रतियोगितालाई विश्वकै उच्च स्थानको दाबी गरिएको छ। यसअघि लोमान्थाङ गाउँपालिकाले त्यहाँ दुई पटक गल्फ प्रतियोगिता आयोजना गरिएको थियो।

आगामी भदौ १ गते हुन लागेको तेस्रो संस्करणको प्रतियोगितामा ६० जना खेलाडीले सहभागिता जनाउने मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले जानकारी दिए।

खेलकुदको माध्यमबाट पर्यटन विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए। ‘उच्च उचाइको कारणले प्रतियोगिता नौ होलमा स्टेबलफोर्ड ढाँचामा खेलाउँछौं,’ उनले भने, ‘विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, क्लोजेस्ट टु द पिन र लङेस्ट ड्राइभका लागि पनि पुरस्कार प्रदान गरिनेछ।’

प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यका साथ १५ जना भारतीय खेलाडीलाई पनि निमन्त्रण गरिएको छ। होल नम्बर ३ मा होल इन वन गर्ने कुनै पनि खेलाडीलाई याक पुरस्कार प्रदान गरिने विष्टले बताए।

प्रतियोगिता सञ्चालन गर्न सात लाख खर्च हुने अनुमान गरिएको छ। दुई वर्षअघि निर्माण भएको सो खेलमैदानलाई विश्वकै उच्च स्थानको गल्फ कोर्सको रुपमा गिनिज बुकमा अभिलेख दर्ता गराउने उद्देश्यसहित यसअघि सन् २०२२ र २०२३ को अगस्टमा पनि प्रतियोगिता सञ्चालन गरिएको थियो।

गल्फका लागि टि बक्स, फेयर वे र ग्रिन, फ्रन्ट लाइन र ब्याक लाइनको टिबक्सलगायत संरचना बनाइएको छ। गल्फ खेलमैदान पुग्न लोमान्थाङबाट १२ किलोमिटर सडक यात्रा गर्नुपर्छ। सवारीसाधनमा लोमान्थाङबाट ३० मिनेटमा पुग्न सकिन्छ।