विश्व केम्पो च्याम्पियनसिपमा नेपालका विपेश थापालाई ऐतिहासिक पदक

25 Apr, 2025
Share:
117 Shares

पोर्चुगलको काल्दास दा रेन्हामा जारी २१औं विश्व केम्पो च्याम्पियनसिपमा नेपालले ऐतिहासिक सफलता हात पारेको छ। नेपाल केम्पो खुकुरी महासंघका खेलाडी विपेश थापाले प्रतियोगिताको तेस्रो दिन कास्य पदक जितेका हुन्।

५ डान श्रेणीका प्रशिक्षक तथा खेलाडी थापाले नेपालका लागि विश्व केम्पो च्याम्पियनसिपमा पहिलोपटक पदक जितेका हुन्। नेपाली केम्पो खेलको इतिहासमै यो पदक पहिलो हो।

नेपालले उक्त च्याम्पियनसिपमा दोस्रोपटक सहभागिता जनाएको हो। गत वर्षको पहिलो सहभागितामा पदकविहीन फर्किएको नेपालले यसपटक थापाको उत्कृष्ट प्रदर्शनमार्फत ऐतिहासिक सफलता हात पारेको हो।

महासंघका अध्यक्ष पाभेल शाहले यसलाई नेपालीहरूको गर्व र सम्मान भएको उल्लेख गर्दै थापाको यो उपलब्धिले केम्पो, खेलकुद, र समग्र नेपालको इतिहासमा स्वर्णिम पृष्ठ थप्नुका साथै नेपालको राष्ट्रिय पहिचानको लागि पनि महत्त्वपूर्ण कोशेढुंगा भएको बताए।

२८ अप्रिलसम्म जारी रहने प्रतियोगितामा नेपाली टोलीले हालसम्मको सफलतालाई थप सुदृढ बनाउने लक्ष्य राखेको जनाएको छ।