हिमालयन चेस एकेडेमी सञ्चालनमा

14 Mar, 2024

युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित स्थापित हिमालयन चेस एकेडेमीको एक समारोहवीच थापाथली, काठमाडौंमा विहीबार उद्घाटन भएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बू र राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका पहिलो विजेता विकासमान लामाले एकेडेमीको लोगो अनावरण गर्दै उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा घिसिङले चेसको विकासको लागि निजी लगानीमा हिमालयन चेस एकेडेमी स्थापना हुनु सह्राहनीय रहेको बताए। एकेडेमीले देशका लागि नाम राख्ने चेस खेलाडी उत्पादन गर्ने विश्वास राखेको उनले बताए।

नेपालमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता २०३६ सालमा सुरु भएको थियो, जहाँ पुरुष खेलाडी मात्रै सहभागी भएका थिए । महिलातर्फ पहिलोपल्ट राष्ट्रिय बुद्धिचाल प्रतियोगिता २०६५ सालमा आयोजना गरिएको थियो, जसको उपाधि मोनालिशा खम्बूले जितेकी थिइन् । उन}ले स्थापना गरेकी हुन्, हिमालयन चेस एकेडेमी।

‘सबैले चेस खेल्न मिल्ने खालको लैंगिकमैत्री र सुरक्षित स्थल छैन, त्यससँगै अहिलेको पुस्तामा बौद्धिक ढंगले सोंच्नसक्ने संस्कृति विकास र अन्तर्राष्ट्रिय प्रतियोगितामा चुनौती दिनसक्ने नेपाली खेलाडी उत्पादनका लागि एकेडेमी स्थापना गरिएको हो,’ अध्यक्ष खम्बूले भनिन्, ‘कलिलै उमेरदेखि चेस सिक्दा बालबालिकामा बौद्धिक विकास, संज्ञात्मक विकास ९कग्निटिभ डेभ्लोप्मेन्ट०, धैर्य गर्नसक्ने क्षमताको विकास हुन्छ । त्यसैले हाम्रो लक्ष्य खेलाडी मात्रै उत्पादन गर्ने होइन, असल नागरिक बनाउने पनि हो।’

२०७३ सालमा पनि राष्ट्रिय च्याम्पियन भएकी खम्बूले एसियाली खेलकुदमा दुईपल्ट, एसियन इन्डोर गेम्समा तीनपल्ट देशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेकी थिइन् चेसको सबभन्दा ठूलो प्रतियोगिता फिडे वल्र्ड चेस ओलम्पियाड तीनपल्ट खेलाडी रहेकी उनी सन् २०२२ मा चेन्नाईमा भएको ४४ औं मा चेस ओलम्पियाडमा आर्बिटरको रुपमा सहभागि हुने पहिलो नेपाली महिला भएकी थिइन्।

हालसम्मकै सबभन्दा उच्च रेटिङ १८७७ मा पुगेकी नेपाली महिला खेलाडी रहेकी खम्बू दुई दशकयता चेसमा सक्रिय छिन्। नेपाल बुद्धिचाल महासंघमा सात वर्षअघि सदस्य भएपछि प्रतियोगिता खेल्न छाडेकी उनी सचिव हुँदै महासंघमा गत वर्ष उपमहासचिवमा निर्वाचित भएकी थिइन्।

एकेडेमीले फागुनदेखि शनिबार र आइतबार कक्षा सञ्चालन गरिसकेको छ। त्यसमा ५ देखि १३ वर्षसम्मका ३० जना बालबालिका रहेका छन्।

फिडे मास्टर रिजेन्द्र राजभण्डारी मुख्य प्रशिक्षक रहेको एकेडेमीले बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी चार वटा कोर्स बनाएर प्रशिक्षण दिनेछ।

एकेडेमीमा मोनालिशा खम्बू, रिजेन्द्र राजभण्डारी, याईशाष यासिर खम्बू, राष्ट्रिय च्याम्पियनहरू रुपेश जैयसवाल र सुजना लोहनी तथा मिसन दाहाल, सुदीप तामाङ, दीपेश गिरि, प्रमित अमात्य र आरती छत्कुली गरी १० जना प्रशिक्षक छन्।