ओलम्पिक कमिटीमा अध्यक्षका लागि जीवनराम, निलेन्द्रराज र तेजबहादुरको उम्मेदवारी

24 Dec, 2024
Share:
117 Shares

नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षका तीन जनाले उम्मेदवारी दिएका छन्।

विवादबीच हुन लागेको ओलम्पिक कमिटीको निर्वाचनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ, वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र ह्यान्डबलका तेजबहादुर गुरुङले उम्मेदवारी दिएका छन्।

सोमबार निर्वाचनका लागि मनोनय दर्ताको कार्यक्रममा थियो। तर, विवाद बढेपछि प्रहरीले बिहानै सातदोबाटोस्थित एनओसी कार्याललय सिल गरेको थियो। त्यसपछि अनलाइनमार्फत मनोनयन दर्ता गरिएको थियो।

शनिबार हुने निर्वाचनका लागि सात उपाध्यक्षका लागि नौ जनाले उम्मेदवारी परेको छ।

जसमा वर्तमान उपाध्यक्ष तथा टेनिसकी ज्योति राणा, पौडीका अशोकरत्न बज्राचार्य, टेबल टेनिसका चतुरानन्द राजबैद्य, तेक्वान्दोका प्रकाशशमशेर राणा, हक्कीका अनिल शर्मा, कबर्ड्डीका तुलशा थापा, जुडोका दीपकहर्ष बज्राचार्य, सुटिङका पुष्पदास श्रेष्ठ र साइक्लिङका गोपालसुन्दर लाल कक्षपति छन्।

यस्तै, महासचिवका लागि र्‍याफ्टिङ एन्ड कनोइङा राजीव श्रेष्ठ र कोषाध्यक्षमा गल्फका टासी घलेको मात्र उम्मेदवारी परेको छ। योसँगै उनीहरू निर्विरोध भएका छन्।

यस्तै उपमहासचिवमा ब्याडमिन्टनका रामजीबहादुर श्रेष्ठ तथा तीन सचिवमा आर्चरीका रमेश शिवाकोटी, बास्केटबलका भीमसिंह गुरुङ र भारोत्तोलनका रामकृष्ण श्रेष्ठ पनि निर्विरोध भएका छन्।

सदस्यमा पनि जिम्न्यास्टिकका गीता राना, फुटबलका मनीष जोशी, उसुका लाक्पा शेर्पा, भलिबलका जितेन्द्रबहादुर चन्द र बक्सिङका राम अवाले निर्विरोध चुनिएका छन्।