१८ वर्षकाे प्रतिक्षापछि बैंग्लुरु र काेहलीले जिते आईपिएल उपाधि

4 Jun, 2025
Share:
117 Shares

१८ वर्षको प्रतिक्षापछि रोयल च्यालेन्जर्स बेंग्लुरुले आईपिएल उपाधि जितेको छ। मंगलबार राति अहमदावादमा भएको फाइनलमा पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै बेंग्लुरु च्याम्पियन बनेको हो।

योसँगै स्टार विराट कोहलीले पनि पहिलो आईपिएल उपाधि उचालेका छन्। एउटै क्लबबाट १८ सिजन आईपिएल खेल्ने एकमात्र खेलाडी कोहली करिब २ दशकको प्रतिक्षा पछि उपाधि जित्दा निकै भावुक देखिएका थिए।

बेंग्लुरु आईपिएल उपाधि जित्ने आठौं टिम बनेको छ। यसअघि डेकन चाजर्स, राजस्थान रोयल्स, चेन्नई सुपर किंग्स, मुम्बई इन्डिन्स, कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदरावाद र गुजराजत टाइटन्सले यो उपाधि जितेका थिए।

फाइनलमा बेंग्लुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले ७ विकेटको क्षतिमा १८४ रन मात्र बनाउन सक्यो। उसका लागि शशांक सिंहले ३० बलमा ३ चौका र ६ छक्का मद्दतमा नटआउट ६१ रन बनाए पनि त्यो जितको लागि पर्याप्त भएन। उनीबाहेक जोश इंग्लिसले ३९, प्रवसिम्रन सिंहले २६ र प्रियंश आर्यले २४ रन बनाए।

बलिङमा बेंग्लुरुका लािग क्रुनाल पाण्ड्याले ४ ओभरमा १७ रन मात्र खर्चेर २ विकेट लिए। यस्तै भुवनेश्वर कुमारले २ तथा यश दयाल, जोश हेजलउड र रोमारियो सेफर्डले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको बेंग्लुरुले ९ विकेटको क्षतिमा १९० रन बनायो। उसका लागि विराट कोहलीले सर्वाधिक ४३ रन बनाउँदा कप्तान रजत पटिदार २६, लियम लिविङ्सटनले २५ तथा जितेश शर्मा र मयंक अग्रसावलले समान २४ रनको योगदान दिए।

बलिङमा पञ्जावका अर्शदीप सिंह र कायल जेमिन्सनले समान ३ विकेट लिए।