फिलिपिन्सले जित्यो एसिया रग्बी सेभेन्सको उपाधि

5 Oct, 2024
Share:
117 Shares

चाइनिज ताइपेईलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ को पुरूषतर्फको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा फिलिपिन्सले चाइनिज ताइपेईलाई २७–१४ को स्कोरले पराजित गर्दै उपाधि हात पारेको हो।

खेलको सुरूआतदेखि नै चाइनिज ताइपेईलाई फिलिपिन्सले दबाबमा राख्न सफल भएको थियो। उक्त दबाब अन्तिमसम्म कायम राख्दै फिलिपिन्स विजेता बन्यो।

यसैगरी भारतलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स–२०२४ को महिलातर्फको उपाधि जितेको छ । भारतलाई ७–५ को स्कोरले पराजित गर्दै फिलिपिन्सले उपाधि हात पारेको हो।

इन्डोनेसियालाई पराजित गर्दै गुआमले भने एसिया रग्बी इमिरेट्स–२०२४ मा तेस्रो स्थान हात पारेको छ। गुआमले इन्डोनेसियालाई २२–१९ ले पराजित गरेको हो । इन्डोनेसियाले सुरूआतीदेखि नै गुआमसँग प्रतिस्पर्धात्मक खेल पस्किएको थियो।

सेमिफाइनलमा फिलिपिन्ससँग इन्डोनेसिया १९–१० ले पराजित भएको थियोे । गुआम भने भारतसँग २४–७ ले पराजित हुन पुग्यो ।

‘च्यालेन्ज थर्ड’ मा नेपाल पराजित

नेपालको पुरूष टोली एसिया रग्बी इमिरेट्स–२०२४ ‘च्यालञ्ज थर्ड’ मा पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा अफगानिस्तानसँग नेपाल २२–५ को स्कोरमा पराजित भएको हो।

एक समय नेपालले खेलमा पुनरागमन गरिसकेको थियो। त्यतिखेर नेपाल र अफगानिस्तानको स्कोर ५–५ थियो। नेपाल त्यही ५ स्कोरमा रोकिँदा अफगानिस्तानले भने थप १७ स्कोर जोड्यो। योसँगै नेपाल २२–५ को स्कोरमा पराजित हुन पुग्यो।

यसअघि नेपाल ‘च्यालेन्ज’ मा कतारसँग ३३–० ले पराजित भएको थियो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटाले पुरस्कार प्रदान गरे।