खेलकुद विविधसमाचार

रग्बीको उपाधि भक्तपुर र मकवानपुरलाई

भक्तपुर र मकवानपुरले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बीको उपाधि शनिबार जितेका छन् । भक्तपुर पुरुष तथा मकवानपुर महिलामा च्याम्पियन बनेका हुन्।

हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा भएको पुरुष फाइनलमा भक्तपुरले मकवानपुरलाई ३१–५ स्कोरले पराजित गर्‍यो। भक्तपुरका सुरज रानाले २ तथा प्रवेश पनेरु, रमेश बानियाँ र नरेन्द्रप्रसाद जोशीले १ ट्राइ गरे। १ ट्राइबाट ५ अंक प्राप्त हुन्छ। भक्तपुरका निरोज कार्कीले ३ कन्भर्सनबाट ६ स्कोर बटुले। १ कन्भर्सन वापत २ अंक दिइन्छ। मकवानपुरका अनिश तामाङले १ ट्राइ गरे।

महिलाको उपाधि भिडन्तमा मकवानपुरले ललिपतुरलाई १७–१० स्कोरले हरायो। विजयी टिमका लागि पुष्पा खड्काले २ तथा मनीषा घिसिङले १ ट्राइ गरे । मकवानपुरकी ज्योतिका बम्जनले १ कन्भर्सन गरिन्। ललितपुरका कमला राई र प्रेक्षा वाग्लेले समान १–१ टाइ गरे।

मकवानपुरको महिला टोलीले उपाधि निश्चित गरेपछि मैदानमा खुशीयाली मनाइ राख्दा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामा मैदानमै पुगेर टोलीलाई बधाइ दिएकी थिइन्।

दुईदिने प्रतियोगिताको पुरुषमा ८ तथा महिलामा ५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । बागमती प्रदेश खेलकुदमा रग्बी पहिलोपटक समावेश गरिएको हो।