काठमाडौंमा एसिया रग्वी असोज १८ बाट

18 Sep, 2024
Share:
117 Shares

एसिया रग्वी महिला तथा पुरुष सेभेन्स ट्रफ्री प्रतियोगिता काठमाडौंमा असोज १८ गते हुने भएको छ। एसिया रग्वीको आयोजना र नेपाल रग्वी संघको व्यवस्थापनमा सञ्चालन हुने प्रतियोगिता असोज १८ र १९ गते दशरथ रंगशालामा सञ्चालन हुने भएको हो।

सन् २०२२ मा एसिया रग्वी यू–१८ र सन् २०२३ मा एसिया यू–२० रग्वीको सफल आयोजना पश्चात नेपाल रग्वी संघले एसियाली रग्वीको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो।

बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक नेपाल रग्वी संघले प्रतियोगिता आयोजना बारेमा जानकारी गराएको हो। संघका अध्यक्ष दिपक देवकोटाले प्रतियोगितामा एसियाका नेपालसहित १७ वटा देशको सहभागिता रहने जानकारी दिए।

उनका अनुसार पुरुष रग्वी सेभेन्सतर्फ १४ वटा टिम र महिला रग्वी सेभेन्समा ८ वटा टिमले सहभागिता जनाउने छन्। प्रतियोगितामा एसियाका ४५० भन्दा धेरै खेलाडी तथा अफिसियल सहभागी हुने छन्।

कार्यक्रम सञ्चालनका लागि करीब २ करोड ८० लाख रुपैयाँ खर्च लाग्ने संघको अनुमान छ । प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्वीको ट्रफी सहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले काँस्य पदक प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

संघका महासचिव गोबिन्द घिमिरेले विश्व रग्वी महासंघको पूर्ण सदस्यता पाएपछि संघले आफ्नो गतिविधि अझ प्रभावकारी रुपमा अगाडि बढाउँदै आइरहेको बताए।

एसियाली रग्वीको सबैभन्दा ठुलो प्रतियोगिताको आयोजनाबाट नेपालको खेल पर्यटन अभिवृद्धिमा सहयोग पुग्ने विश्वास घिमिरेले व्यक्त गरे।