खेलकुदको बजेट ३८ करोड बढ्यो : दमकमा अन्तर्राष्ट्रिय रंगशाला, सन्न्यास लिएका खेलाडीलाई व्यवसाय गर्न सहुलियत कर्जा

सरकारले आर्थिक वर्ष ०७८/७९का लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षका लागि सरकारले खेलकुदमा ३८ करोड रुपैयाँ बजेट बढाएको छ । आर्थिक वर्ष ०७७/७८मा खेलकुदमा २ अर्ब ३६ करोड बजेट विनियोन गरिएको थियो।

आर्थिक वर्ष ०७८/७९को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले झापको दकममा अन्तर्राष्ट्रिय स्तरको मदनभण्डारी रंगशाला निर्माण गर्ने बताएका छन् । उनले सो रंगशाला २ वर्षभित्रमा निर्माण गरिने बताए ।

यस्तै, सरकारले मोरङको बैजनाथपुर, काठमाडौंको मुलपानी, रुपन्देहीको भैरहवा, दाङको लमही, बाँकेको नेपलागञ्ज र कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट रंगशाला बनाउन रकम विजयोजन गरेको छ।

अर्थमन्त्री पौडेलले पोखरा रंगशालमा आगामी वर्षभित्र निर्माण समपन्न गरिने प्रतिबद्धता व्यक्त गरे । यस्तै, बजेटमा सन्न्यास लिइसकेका खेलाडीलाई व्यवसाय सञ्चालन गर्न सहुलियन दरको ऋण उपलब्ध गराउने घोषणा पनि गरिएको छ।

धनगढी, इटहरी, वीरेन्द्रनगर, वीरगञ्ज र जनकपुरमा प्रादेशिक रंगशाला निर्माण कार्य प्रारम्भ गरिने, सबै स्थानीय तहमा खेल पूर्वाधार निर्माण गरिने घोषणा पनि अर्थमन्त्री पौडेलले बजेटमार्फत् घोषणा गरेका छन्। यस्तै, आगामी आर्थिक वर्षमा १६८ स्थानीय तहमा खेलग्राम स्थापना गरिने छ।

सोलुमुम्बु, सिन्धुपाल्चोक, मनाङ र मुस्ताङमा हाइअल्टिच्यूट स्पोट्र्स सेन्टर निर्माण गर्न पनि सरकारले रकम विनियोजन गरेको छ। सरकारले अन्तर्राष्ट्रिय स्तरमा पदक जित्न सक्ने खेल पहिचान गरी खेलाडीलाई प्रोत्साहन गर्ने घोषणा पनि गरेको छ।

यस्तै, अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागीता वृद्धि गर्ने लक्ष्य पनि बजेटमा समावेश गरिएको छ। नेपालमा अन्तर्राष्ट्रियस्तरको खेल विश्वविद्यालय निर्माणका लागि सम्भावव्यता अध्ययन गरिने पनि अर्थमन्त्री पौडेलले उल्लख गरे।

Facebook Comments Box