भारतसँग नेपाल ८२ रनले पराजित, एसिया कपको समूह चरणबाटै बाहिरियो

24 Jul, 2024
Share:
117 Shares

एसीसी एसिया कप क्रिकेटमा नेपालको यात्रा समूह चरणमै रोकिएको छ।

श्रीलंकामा जारी प्रतियोगितामो समूह एमा रहेको नेपाल भारत र पाकिस्तानसँग पराजित भएपछि समूह चरणमा एक खेलमात्रै जितेर घर फर्किन लागेको हो।

समूह चरणको अन्तिम खेलमा भारतसँग नेपाल मंगलबार ८२ रनले पराजित भयो। उद्घाटन खेलमा युएईलाई पराजित गर्दै सुखद् सुरुआत गरेको नेपालले त्यसपछि पाकिस्तान र भारतसँग पराजय भोग्न पुग्यो।

भारतले दिएको १७९ रनको विशाल लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा ९ विकेट गुमाएर ९६ रनमै रोकियो।

नेपालका लागि सिता रानामगरले सर्वाधिक २२, विन्दू रावलले नटआउट १७ रन बनाउँदा रुविना क्षेत्रीले १५ तथा कप्तान इन्दू वर्माले १४ रनको पारि खेले। अन्यले भने गतिलो योगदान दिन सकेनन्।

भारतका लागि दीप्ती शर्माले ३ विकेट लिँदा अरुणधति रेड्डी, दीप्ती शर्मा र राधा यादवले समान २ विकेट लिए।

पहिला ब्याटिङ गरेको भारतका नियमित ओपनर सफाली बर्मा र दयालन हेमलताले शतकीय साझेदारी गरेपछि उसले ३ विकेटको क्षतिमा १७८ रन बनायो।

सफालीले ४८ बलमा १२ चौका र १ छक्का मद्दतमा ८१ रन बनाइन्। यस्तै, हेमलताले ४२ बलमा ५ चौका र १ छक्का मद्दतमा ४७रन बनाइन्। यी दुई पहिलो विकेटका लागि १२२ रनको साझोदारी गरेका थिए।

यस्तै, जेमिमा रोड्रिगेजले १५ बलमा २८ रन बनाउँदा सजिवन सजनाले १२ बलमा १० रन बनाए।

बलिङमा नेपालका सीता रानामगर २ तथा कविता जोशीले १ विकेट लिए।

समूह ए बाट भारत विजेता र पाकिस्तान उपविजेताका रुपमा सेमिफाइनल पुगेका छन्।