श्रीलंकन ब्याटर कामिल मिशाराको शानदार शतक प्रहार गरेपछि नेपाल प्रियिमर लिगको एलिमिनेटरमा चितवन राइनोज विजयी भएको छ।
बुधबार साँझ टियू मैदानमा भएको खेलमा चितवनले कामिलको कीर्तिमानी शतक मद्दतमा काठमाडौं गोर्खाजलाई ६१ रनले हरायो। योसँगै चितवन दोस्रो क्वालिफायरमा पुगेको छ।
अब उसले फाइनल प्रवेशका लागि भोलि सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ। पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएपछि सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेल्न लागेको हो।
चितवनले दिएको २०५ रनको विशाल लक्ष्य लक्ष्य पछ्याको काठमाडौंले ९ विकेटको क्षतिमा १४३ रन मात्र बनाउन सक्यो। उसका लागि विलियम बोसिस्टोले २८ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा सर्वाधिक ३७ रन बनाए भने भीम सार्कीले नटआउट ३० रन बनाए। अन्यले गतिलो योगदान दिन सकेनन्।
काठमाडौंलाई सस्तैमा रोक्ने क्रममा चितवनका रिजन ढकालले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए भने उसमा मिरले ३, कुशल मल्ल र सलाउद्दिन खानले समान १ विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गरेको चितवनले कामिल मिशाराको कीर्तिमानी शतक मद्दतमा ४ विकेटको क्षतिमा २०४ रन बनायो। जसमा कामिल उनले ५९ बल खेल्दै ५ चौका र १० छक्का मद्दतमा १२० रन बनाए। यो एनपिएल इतिहासकै व्यक्तिगत उच्च स्कोर हो।
यस्तै रवि बोपाराले ४२ बलमा ३ चौका र २ छक्का मद्दतमा ५३ रन जोडे भने देव खजालले १७ रन बनाए। कामिल र बोपारासँग मिलेर तेस्रो विकेटका लागि १५४ रनको शतकिय साझेदारी गरे ।
बलिङमा काठमाडौंका कप्तान करण केसी र रासिद खानले समान २ विकेट लिए।
