सामग्रीमा जानुहोस्
मंगलबार, कात्तिक १७, २०८३

एनपीएलमा आकर्षण थप्दै मस्कट

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यतिबेला क्रिकेटको रोमाञ्च मात्र छैन, आठवटै टोलीका मस्कट (प्रतीक पात्र) पनि दर्शकको आकर्षणको केन्द्र बनेका छन् ।

मैदानमा दर्शकले खेलाडीको प्रहार र प्रदर्शनप्रति मात्रै ‘वाहवाही’ गर्दैनन् बरु मैदान भित्र र वाहिर घुमिरहने मस्कट हेरेर पनि आनन्द लिने गर्दछन् ।

मैदानमा खेलाडीको प्रदर्शन, चौका–छक्का र समर्थकको हुटिङसँगै विभिन्न जनावर तथा पौराणिक पात्रको स्वरूपमा तयार गरिएका मस्कटले नेपाल प्रिमियर लिग (एनपीएल)को माहोललाई थप उत्साहपूर्ण बनाएका छन् ।

एनपीएलमा सहभागी आठवटै फ्रेन्चाइज टोलीले आफ्नो क्षेत्रको भौगोलिक, सांस्कृतिक तथा प्राकृतिक पहिचान झल्किने मस्कट छनोट गरेका छन् ।

यी मस्कट टोलीको पहिचानका रूपमा मात्र सीमित छैनन्, समर्थकसँग जोडिने र मैदानमा मनोरञ्जन थप्ने माध्यमसमेत बनेका छन् ।

कसैले हिमाली याकलाई आफ्नो प्रतीक बनाएको छ भने कसैले एकसिंगे गैँडा, बाघ, हात्ती र सिंहलाई मस्कटका रूपमा प्रस्तुत गरेको छ । त्यस्तै, पौराणिक पात्र गरुड र हिमाली लोककथाको यतीले पनि एनपीएलमा छुट्टै पहिचान बनाएका छन् ।

यी मस्कटले क्रिकेट मैदानमा गीतको तालमा नाच्ने, दर्शकलाई हँसाउने र समर्थकसँग रमाइलो गर्ने कामसमेत गरिरहेका छन् ।

खेलको तनावपूर्ण क्षणमा उनीहरूको गतिविधिले दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै मैदानको माहोललाई थप जीवन्त बनाएको छ । विशेषगरी बालबालिका तथा परिवारसहित खेल हेर्न आउने दर्शकका लागि मस्कट अर्को आकर्षण बनेका छन् ।

आठ टोली, आठ फरक मस्कट

१. जनकपुर बोल्ट्स ‘बौवा’ (सेतो हात्ती)

जनकपुर बोल्ट्सको मस्कट सेतो हात्ती हो, जसको नाम ‘बौवा’ राखिएको छ । मैथिली भाषामा बौवा शब्द छोरालाई मायाले सम्बोधन गर्दा प्रयोग गरिन्छ । यसले मधेशको भाषा, संस्कृति र स्थानीय पहिचानलाई प्रतिनिधित्व गर्छ ।

२. काठमाडौं गोर्खाज ‘दादा’ (यती)

काठमाडौं गोर्खाजको मस्कट हिमाली लोककथामा वर्णन गरिने यती हो । यसको नाम ‘दादा’ राखिएको छ, जसको अर्थ दाजु हुन्छ । संरक्षक र मार्गदर्शकको प्रतीकका रूपमा यसलाई प्रस्तुत गरिएको छ ।

३. चितवन राइनोज – ‘मिस्टर गैँडा’

चितवन राइनोजको मस्कट एकसिंगे गैँडा हो । ‘मिस्टर गैँडा’ नाम दिइएको यो मस्कट चितवन राष्ट्रिय निकुञ्जको प्रमुख वन्यजन्तु र चितवनको प्राकृतिक पहिचानसँग जोडिएको छ ।

४. सुदूरपश्चिम रोयल्स – ‘बड्डौ’ (बाघ)

सुदूरपश्चिम रोयल्सको मस्कट बाघ हो । यसको नाम ‘बड्डौ’ राखिएको छ, जुन डोटेली भाषासँग सम्बन्धित छ । बाघले सुदूरपश्चिमको प्राकृतिक सम्पदा, क्षेत्रीय गौरव र पहिचान झल्काउँछ ।

५. विराटनगर किंग्स – ‘पूर्वेली राजा’ (अर्ना)

विराटनगर किंग्सको मस्कट अर्ना अर्थात् जंगली भैंसी हो । ‘पूर्वेली राजा’ नाम दिइएको यस मस्कटले पूर्वी नेपालको पहिचान र कोशी क्षेत्रको प्राकृतिक सम्पदालाई प्रतिनिधित्व गर्छ । यसलाई शक्ति र सहनशीलताको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ ।

६. कर्णाली याक्स – ‘मिस्टर याक’

कर्णाली याक्सको मस्कट हिमाली क्षेत्रमा पाइने याक हो । ‘मिस्टर याक’ नाम दिइएको यसले कठिन भौगोलिक तथा मौसमी परिस्थितिमा पनि अनुकूलन गर्न सक्ने क्षमता, शक्ति र सहनशीलताको प्रतिनिधित्व गर्छ ।

७. पोखरा एभेन्जर्स – ‘गरुड’

पोखरा एभेन्जर्सको मस्कट पौराणिक पात्र गरुड हो । हिन्दू धर्मशास्त्रमा भगवान् विष्णुको वाहनका रूपमा वर्णन गरिने गरुडलाई शक्ति, साहस र तीव्रताको प्रतीकका रूपमा लिइन्छ । यसले टोलीलाई छुट्टै सांस्कृतिक पहिचान दिएको छ ।

८. लुम्बिनी लायन्स – ‘सिंह राजा’ (सिंह)

लुम्बिनी लायन्सको मस्कट सिंह हो । ‘सिंह राजा’ नाम दिइएको यसले साहस, शक्ति र नेतृत्वको प्रतीकात्मक अर्थ बोकेको छ । टोलीको नाम र मस्कटबीच पनि प्रत्यक्ष सम्बन्ध देखिन्छ ।

टोलीभन्दा फरक एनपीएलको साझा मस्कट ‘जीत’ आठवटा फ्रेन्चाइज टोलीका आ–आफ्नै मस्कट भए पनि एनपीएलको साझा मस्कट भने हिउँ चितुवा हो । यसलाई ‘जीत’ नाम दिइएको छ । नेपाली भाषामा जीतको अर्थ विजय हो । यसले समग्र प्रतियोगिताको प्रतिनिधित्व गर्छ ।

यसरी एनपीएलका आठवटै मस्कटले नेपालको भौगोलिक विविधता, वन्यजन्तु, भाषा, संस्कृति र पौराणिक परम्परालाई क्रिकेटसँग जोड्ने प्रयास गरेका छन् । मैदानमा खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गरिरहँदा यी मस्कटले दर्शकलाई मनोरञ्जन दिनुका साथै आफ्नो क्षेत्रको पहिचानसमेत झल्काइरहेका छन् ।

सेयर गर्नुहोस्

1.3KShares