सामग्रीमा जानुहोस्
शनिबार, असोज ३१, २०८३

मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबलको उपाधि नेपाल पुलिसलाई

दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम नेपाल पुलिस क्लबले जितेको छ।

शनिबार बुटवलको बीआईसीसी सम्मेलन केन्द्रमा भएको फाइनलमा सभापोखरी भलिबल क्लब संखुवासभालाई ३–० को सोझो सेटमा हराउँदै पुलिस क्लबले उपाधि उचालेको हो।

पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको पुलिस क्लबले दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२२ ले जितेको हो।

प्रतियोगितामा विभागीय टिम एपीएफ क्लब तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा एपीएफले खैरा भलिबल क्लब पन्जाबलाई ३–१ को सेटमा हराएको थियो।

पहिलो सेट १८–२५ ले हारेको एपीएफले त्यसपछिका तीन सेटमा लगातार जित निकालेको थियो। दोस्रो सेटमा खैरामाथि २५–१९ को जित निकालेको एपीएफले तेस्रो सेटमा २५–१३ र चौथो सेटमा २५–११ को जित हात पारेको हो ।

उपाधिसँगै पुलिस क्लबले ७ लाख रुपैयाँ पुरस्कार पुरस्कार पाउँदा उपविजेता सभापोखरीले ३ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ। तेस्रो भएको एपीएफले एक लाख ७५ हजार रुपैयाँ र चौथो भएको खैराले सान्त्वना पुरस्कार स्वरुप ७५ हजार रुपैयाँ हात पारेको छ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी पुलिसका पहल गहतराज घोषित भए । उनले १५ हजार रुपैयाँ पाए । यस्तै, विधागततर्फ एपीएफका सरोज बर्देवा उत्कृष्ट स्पाइकर, पुलिसका बलराम गुरुङ उत्कृष्ट सेटर, पुलिसका रेशम छन्त्याल उत्कृष्ट सर्भर, सभापोखरीका सिभान सेन उत्कृष्ट ब्लकर, सभापोखरीका सन्तोष राई उत्कृष्ट डिफेन्डर र पुलिसका चन्द्र कुँवर उत्कृष्ट प्रशिक्षक चुनिए ।

उत्कृष्ट सबैले जनही आठ हजार रुपैयाँ हात पारेका छन् । १२ असोजदेखि सुरु भएको प्रतियोगितामा तीन विदेशीसहित सात टिमको सहभागिता थियो ।

सेयर गर्नुहोस्

1.2KShares