कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा फ्रेन्ड्स युथ क्लब अर्जुन ट्रफीको फाइनलमा

8 Feb, 2025
Share:
117 Shares

फ्रेन्ड्स युथ क्लब, डडेलधुरा धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। फ्रेन्ड्सलाई फाइनलसम्मको यात्रा तय गराउन कुशल भुर्तेलले उत्कृष्ट अलराउण्ड प्रदर्शन गरे।

पहिलो सेमिफाइनलमा शनिबार न्यु होराइजन बुटवललाई ५ विकेटले हराउँदै डडेलधुरा फाइनल पुगेको हो। डडेलधुराले उपाधिका लागि सोमबार डिसीए धनगढी र सिवाईसी अत्तरियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।

८३ रनको सामान्य लक्ष्य डडेलधुराले १५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। डडेलधुराको जितमा ओपनर कुशलले सर्वाधिक ४६ रन जोडे। उनले २६ बलमा ६ चौका र २ छक्कका प्रहार गरे । अर्का ओपनर आयुष्मान बमले १६ रन बनाए।

कप्तान सन्दीप जोरा ६ र किरण ठगुन्ना ८ रनमा नट आउट रहे। होराइजनका लागि प्रिन्स पालले ३, महेश भार र निर्मल गुरुङले समान १ विकेट लिए।

फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको होराइजन १६.१ ओभरमा ८२ रनमा समेटिएको थियो। होराइजनका लागि आरिफ खानले १६ बलमा सर्वाधिक २० रन जोडे। दिपक डुम्रे १८ र निश्चल ज्ञवाली १४ रनमा आउट भए। होराइजनका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

डडेलधुराका लागि कुशलले ३.१ ओभरमा १९ रन खर्चिएर ५ विकेट लिए। अजय चौहानले ३, हेमन्त धामी र अशोक धामीले समान १ विकेट लिए।

प्रतियोगिताको विजेताले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन्।