सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

कमलसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा मधेशमाथि एपिएफको जित

कमलसिंह ऐरीले अलराउन्डर प्रदर्शन गरेपछि प्रधानमन्त्री कप एकदिवसीय क्रिकटमा विभागीय टिम एपिएफले लगातार दोस्रो जित निकालेको छ। बिहीबार लमहीमा भएको खेलमा कमलको बल र ब्याट दुवै चलेपछि एपिएफले मधेश प्रदेशमाथि २ विकेटको जित निकाल्यो।

मधेशले दिएको १६९ रनको मध्यम लक्ष्य एपिएफले ३६.५ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो। उसका लागि सुमित महर्जनले ३५, आसिफ सेखले ३४ रन बनाउँदा नवौं नम्बरमा ब्याटिङका लागि आएका कमलले ३१ बलमा ३ छक्का प्रहार गर्दै नटआउट २८ रन बनाए।

एपिएफलाई दबाबमा राख्ने क्रममा मधेशका कमल गुप्ताले ४ विकेट लिए भने प्रदीप पासवानले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको मधेशले ४०.४ ओभरमा अलआउट हुँदै १६८ रन बनायो। उसका पवन सर्राफले पुनः उत्कृष्ट ब्याटिङ गरे। अघिल्लो खेलमा ९४ रन बनाएका उनले एपिएफविरुद्ध ७७ बलमा ८ चौका र ५ छक्का मद्दतमा ७७ रन बनाए। अन्य ब्याट्सम्यानले साथ नदिँदा मधेश सस्तैमा समेटियो।

मधेशको इनिङ धरासायी बनाउने क्रममा कमलले ४ विकेट लिए भने भुवन कार्की र रोहित पौडेलले समान २ विकेट लिए।

एपिएफले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो। मधेशको यो पहिलो हार हो। उसले पहिलो खेलमा कोशी प्रदेशलाई हराएको थियो।

267शेयर