पल्सर स्पोर्ट्स अवार्ड पहिलो पटक मोफसलमा हुने

25 Jul, 2025

नेपाली खेलकुदको प्रतिष्ठित खेलाडी सम्मान कार्यक्रम ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’ यो वर्ष आगामी भदौ २९ गते पोखरामा हुने भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हरेक वर्ष हुने अवार्ड कार्यक्रम २२ औं संस्करणमा आएर पहिलो पटक काठमाडौं बाहिर हुन लागेको हो।

अवार्डको आयोजनाका लागि शुक्रवार आयोजक मञ्च र मुख्य प्रायोजक गोल्छा ग्रुपबिच प्रायोजक सम्बन्धी सम्झौता भयो।

सम्झौता पत्रमा मञ्चका तर्फबाट अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले हस्ताक्षर गरे। विगत १७ वर्षदेखि नियमित रुपमा मुख्य प्रायोजन गर्दै आएको गोल्छा ग्रुपले ५ वर्षको संझौता थप गरेको हो।

सम्झौता अनुसार गोल्छा ग्रुपले नगद र जिन्सी गरी ४० लाख रुपैयाँ बराबरको प्रायोजन गर्नेछ।

मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले नेपाली खेलकुदको दायरा फराकिलो भइरहेको अवस्थामा स्पोट्र्स अवार्डलाई देशव्यापी फैलाउने उद्देश्यले पर्यटनको राजधानी पोखरामा अवार्ड आयोजना गर्न लागेको जानकारी दिए।

‘काठमाडौँ बाहिर लैजाने तयारी केही वर्षअगाडिदेखि नै भइरहेको थियो। सम्भावित केही शहरसँग कुराकानी गर्ने क्रममा पोखराले भ्रमण वर्ष २०२५ मनाइरहेको बेला सबै पक्ष अनुकुल बनेपछि यसपालीको स्पोट्र्स पोखरा लान सफल भयौं,’ अध्यक्ष अधिकारीले भने।

यस वर्ष पनि स्पोट्र्स अवार्डमा १० विधा समावेश हुनेछ । जसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड र टिम अफ दि इयर विधा छन्।

उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ५ विधाका खेलाडीले पल्सर मोटर साइकल प्राप्त गर्नेछ भने स्पेशल, लाइफटाइम अचिभमेन्ट, टिम अफ द इयर र पारा एथलेट सम्मानका विजेताले नगद १ लाख रुपैंया प्राप्त गर्नेछन्।

पिपल्स च्वाइस विधाको मनोनयनका साथै वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गर्ने तयारी मञ्चको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]