नेपाल खेलकुद पत्रकार मञ्चले यो वर्षको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको चार विधाको उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरेको छ।
मञ्चले शनिबार उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला, युवा र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो।
जसअनुसार पुरुष वर्ष खेलाडीमा दुई टिममेट तथा रुममेट क्रिकेटर दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल प्रतिस्पर्धामा छन्। उमेरसमूह खेल्दादेखिकै यी दुई रुममेट हुन्। यी दुईलाई उसुका विजय सिन्जाली, खो खोका जनक चन्द र टेबल टेनिस स्यान्टु श्रेष्ठले चुनौती दिनेछन्।
उत्कृष्ट वर्ष महिला खेलाडी बन्न करातेकी एरिका गुरुङ, फुटबलकी रेखा पौडेल, खोखोकी मानमती धामी, करातेकी एलिसा रास्कोटी मगर र भलिबलकी सलिना श्रेष्ठबीच प्रतिस्पर्धा हुने छ।
यस्तै, युवा खेलाडीका क्रिकेटकी पूजा महतो, फुटबलका समीर तामाङ, एथ्लेटिक्सका अजय बिक, करातेका अब्जली महर्जन र बक्सिङका स्वस्तिका तिरुवा मनोनयनमा परेका छन्।
वर्षको उत्कृष्ट प्रशिक्षकका बक्सिङका दीपक महर्जन, पारा तेक्वान्दोका कविराज नेगी लामा, खो खो लक्ष्मी नारायण वैद्य, क्रिकेटका महेश रिजाल तथा करातेका कुशल श्रेष्ठ मनोनयनमा परेका छन्।
२०औं संस्करणको अवार्डका लागि यसअघि नै पिपल्स च्वाइस अवार्डको मनोनयन भने सर्वाजनिक भइसकेको छ। मनोनयनमा विजय सिन्जाली (उसु), पूजा महतो (क्रिकेट), हिमाल सुनारी (भलिबल), रेखा पौडेल (फुटबल) र इभाना थापा (टेबल टेनिस( छन् ।
मञ्चका सचिव अनिल मल्ल ठकुरीको संयोजकत्वमा रहेको पाँच सदस्यीय छनोट समितिले उत्कृष्ट ५ छनोट गरेको छ। समितिमा निरञ्जन राजवंशी, हिमेशरत्न बज्राचार्य र विराट रायमाझी छन्।
पहिलो पटक मोफसलमा हुन लागेकाृ अवार्ड पोखरामा आगामी भदौ २९ गते हुने छ।
