भारत, अस्ट्रेलियाजस्ता ठूला टिमसँग टियूमा खेल्न चाहन्छन राेहित

11 Feb, 2026

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकपमा ठूला टोलीसँगको खेलसँगै नेपाली खेलाडीले दबाबको बेला कसरी खेल्ने सिकेको बताएका छन्।

मुम्बईमा मंगलबार भएको प्रेसमिटमा उनले विश्वकप खेल्दै गर्दा स्वाभाविक रुपमा दबाब हुने बताएका हुन्।

‘पछिल्लो खेलबाट हामीले अन्तिम अवस्थामा दबाबलाई कसरी व्यवस्थापन गर्ने र खेल्ने भन्ने सिक्यौँ’, रोहितले भने, ‘जब विश्वकप खेलिन्छ, निश्चय नै त्यहाँ दबाब त हुने नै भयो। हामीले अहिलेसम्म धेरै क्रिकेट खेलिसकेका छौँ। त्यसकारण पनि कसरी दबाबलाई ह्यान्डल गर्ने हाम्रो टिमले सिकेको छ। ठूलो संख्याका समर्थकको अगाडि हामीले खेलिसकेका छौँ। इटलीविरुद्ध पनि त्यहीअनुसार खेल्छौँ।’

पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले इंग्ल्यान्डसँगको नतिजाका लागि समर्थकसँग नन्दन यादवले मागेको माफी उनको व्यक्तिगत कुरा भएको उल्लेख गरे।

खासगरी ठूला टोलीसँग खेलेको धेरै अनुभव नभएकाले पनि पछिल्ला नतिजाहरु आफूअनुकूल नआएको उनको बुझाइ छ।

‘हामीले ठूला टोलीसँग खासै खेल्न पाएका छैनौँ। वेस्ट इन्डिजसँग मात्र बिग गेम खेल्ने अवसर पायौँ। हामीलाई एक्सपोजर चाहिएको छ’, उनले भने, ‘यदि हामीले नियमित रुपमा यस्ता खेल, सिरिज खेल्न पायौँ भने राम्रो गर्न सक्छौँ। मलाई आशा छ, यो विश्वकपपछि हामीमा केही न केही परिवर्तन आउनेछ।’

उनले एक्सपोजर र अनुभवका लागि ठूला टोलीसँग काठमाडौंमा खेल्न चाहेको पनि खुलाए।

‘हामी चाहन्छौँ– अस्ट्रेलिया, इंग्ल्यान्ड, इन्डियाजस्ता देशहरु आएर कीर्तिपुर (काठमाडौं)मा हामीसँग खेलून्। उनीहरुले न्यानो स्वागत पाउनेछन्। र, यसका लागि म आशावादी पनि छु’, उनले भने।

जारी विश्वकपमा सबै खेल वानखेडेमा खेल्न पाउँदा खुसी लागेको रोहितको भनाइ छ। ‘हाम्रा सबै खेल वानखेडेमा हुँदा खुसी लागेको छ। त्यहाँको विकेट मैत्री वातावरण हामीअनुकूल पनि छ। त्यो हाम्रा लागि फाइदाको कुरा हो’, उनले भने।

अस्ट्रेलिया, इंग्ल्यान्ड, इन्डियाजस्ता टोली नेपाल आएर खेल्ने हो भने यसले नेपाललाई सहयोग गर्ने मात्रै नभई क्रिकेटको विश्वव्यापीकरणमा पनि मद्दत पुर्‍याउने बताए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]