न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, पाकिस्तानको सेमिफाइनल सम्भावना कायमै

28 Feb, 2026

आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ । शुक्रबार कोलोम्बोमा भएको खेलमा इंग्ल्यान्ड ४ विकेटले विजयी भयो ।

योसँगै इंग्ल्यान्डले समूह २ को विजेताका रूपमा भारत गएर सेमिफाइनल खेल्नेछ । यो नतिजाले पाकिस्तानको पनि सेमिफाइनल सम्भावना कायमै रहेको छ ।

२ खेलबाट १ अंक मात्र जोडेको पाकिस्तानले अब अन्तिम खेलमा श्रीलंकालाई हराएर नेट रनरेटमा न्युजिल्यान्डलाई उछिन्नुपर्नेछ । न्युजिल्यान्डको ३ अंक छ भने इंग्ल्यान्डको ६ अंक भइसकेको छ ।

शुक्रबार कोलोम्बोमा भएको खेलमा न्युजिल्यान्डले दिएको १६० रनको लक्ष्य इंग्ल्यान्डले ३ बल बाँकी छँदा ६ विकेटको क्षतिमा भेट्टायो । ३ ओभरमा ४३ रन आवश्यक रहेको अवस्थाबाट विल ज्याक्स र रेहान अहमदले १६ बलमा अविजित ४४ रनको साझेदारी गरे ।

१८औं ओभरमा ग्लेन फिलिप्सले २२ रन बेहोरे भने १९औं ओभरमा कप्तान मिचेल सान्टनरले १६ रन बेहोरेपछि अन्तिम ओभरमा ५ रन आवश्यक थियो । ज्याक्सले १८ बलमा अविजित ३२ रन बनाए भने रेहानले ७ बलमा १९ रन बनाए ।

इंग्ल्यान्डले सुरुवाती २ ओभरभित्रै २ विकेट गुमाएको थियो । टम बेन्टनले ३३ रन बनाए भने कप्तान ह्‍यारी ब्रूकले २६ अनि ज्याकब बेथेलले २१ रन बनाए ।

न्युजिल्यान्डका लागि रचिन रविन्द्रले ३ विकेट लिँदा म्याट हेनरी, लकी फर्गुसन र ग्लेन फिलिप्सले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनाएको थियो । ग्लेन फिलिप्सले सर्वाधिक ३९ रन बनाए भने ओपनर टिम सेफर्टले ३५ रन बनाए ।

इंग्ल्यान्डका आदिल राशिद, विल ज्याक्स र रेहान अहमदले २-२ विकेट लिए भने लियाम डसनले १ विकेट लिए ।

अब यो समूहमा श्रीलंका र पाकिस्तानबीचको खेल बाँकी छ । पाकिस्तानले कम्तीमा ६५ रन वा १३.१ ओभरमा लक्ष्य पूरा गर्दा न्युजिल्यान्डलाई नेट रनरेटमा उछिन्नेछ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]