गुलशन झाको साहसलाई पन्छाउँदै स्कटल्यान्डले क्रिकेट विश्वकप लिग(२ मा मंगलबार नेपाललाई २ रनले पराजित गरेको छ । स्कटल्यान्डले कीर्तिपुरमा नेपाललाई पराजित गरेको यो पहिलो पटक हो ।
टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ४३ रन बनाएको थियो । नेपाली इनिङ्स सुरू हुने क्रममा वर्षाले खेल बिथोलेको थियो । वर्षा रोकिएपछि डकवर्थ लुइस पद्धतिको आधारमा नेपालले ३९ ओभरमा २ सय २१ रनको नयाँ लक्ष्य पाएको थियो ।
गुलशनले ३५ बलमा अविजित ६१ रन बनाए पनि नेपालले ७ विकेट गुमाई २ सय १८ रनमात्र बनाउन सक्यो । अन्तिम ओभरमा नेपाललाई विजयका लागि १३ रनको आवश्यकता थियो । तर नेपालले १० रनमात्र बनाउन सक्यो । गुलशनले खेलको अन्तिम बलमा छक्का प्रहार गरेका थिए ।
गुलशनले कुल २ चौका र ५ छक्का प्रहार गरे । उनीसँगै नन्दन यादव १० बलमा ८ रन बनाई अविजित रहे । नेपालबाट विनोद भण्डारी १०, अर्जुन कुमाल शून्य, आसिफ शेख २१ रनमा आउट भएका थिए ।
उपकप्तान दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले चौथो विकेटमा ७६ रनको साझेदारी गरे । रोहित ३२ रनमा आउट भए । उनले ४६ बल खेली २ चौका प्रहार गरे । दीपेन्द्रले अर्को आकर्षक इनिङ्स खेल्नेक्रममा ४९ बल खेली ५ चौका र १ छक्कासहित ५५ रन बनाए । त्यसपछि आरिफ शेख ३ र करण केसी १८ रनमा आउट भए ।
स्कटल्यान्डबाट ब्राड करी ३ विकेट लिँदै प्लेयर अफ द म्याचमा चुनिए । उनले ८ ओभरमा ४३ रन खर्चेका थिए । मार्क वाटले ८ ओभरमा ३७ रन खर्चेर २ तथा ओलिभर डेभिडसन र ज्याक जार्भिसले १–१ विकेट लिए ।
यस जितसँगै स्कटल्यान्डले शीर्ष स्थानको अमेरिकासँगै समान ३६ अंक बनाएको छ । तर रन अन्तरमा स्कटल्यान्ड दोस्रो स्थानमा छ । स्कटल्यान्डको २९ खेलको तुलनामा अमेरिकाले २४ खेलमात्र खेलेको छ । नेपाल २५ खेलमा १८ अंक जोडेर सातौं स्थानमा यथावत छ ।
यसअघि जर्ज मन्सी र फिन्ले म्याकक्रिथले पहिलो विकेटमा १ सय रन जोडेर स्कटल्यान्डलाई सानदार सुरुआत दिलाए पनि सन्दीप लामिछानेको सानदार स्पेलमा नेपालले पुनरागमन गरेको थियो ।
मन्सी २१ औं ओभरमा पहिलो विकेटको रुपमा आउट हुँदा स्कटल्यान्डको १ सय १४ रन थियो । यहीबाट नेपाल खेलमा फर्किएको थियो । सन्दीपको बलमा मन्सी टप एज लागेर आउट भए । सोही ओभरमा सन्दीपले म्याकक्रिथलाई एलबीडब्लू आउट गरे । मन्सीले ६२ बल खेली १२ चौका र २ छक्का प्रहार गर्दै ७५ र म्याकक्रिथले ६२ बल खेली ३ चौका प्रहार गरी ३५ रन बनाए ।
सन्दीपले त्यसपछिको आफ्नो दुई ओभरमा ब्रान्डान म्याकमुलेनलाई ७ रनमा बोल्ड गरे भने कप्तान रिची बेरिङटनलाई ५ रनमा एलबीडब्लू आउट गरेपछि स्कटल्यान्ड २५ ओभरमा १२८–४ को स्थितिमा पुगेको थियो । त्यसपछि माइकल इंग्लिस र म्याथ्यु क्रस पूरै दबाबमा खेले । क्रस ३८ बल खेली १ चौका प्रहार गरी १८ र मार्क वाट १८ बल खेली समान २ चौका र छक्का प्रहार गरी २८ रनमा आउट भए । दुवैलाई करण केसीले आउट गरे । माइकल लिस्कले २३ बल खेली ३ चौका प्रहार गरी २९ रन बनाए । इंग्लिस ७२ बल खेली १ चौका प्रहार गरी ३४ रन बनाई अविजित रहे ।
सन्दीपले ४ विकेट लिनेक्रममा १० ओभरमा १ मेडन राख्दै ४१ रन खर्चे । करणले ८ ओभरमा ५१ र नन्दन यादवले ८ ओभरमा ३३ रन खर्चेर २–२ विकेट लिए । नन्दनले इनिङ्सको अन्तिम ओभरमा १ रनमात्र खर्चेर सो २ विकेट लिएका थिए ।
