बंगलादेशले डार्विन टेस्टमा अस्ट्रेलियालाई ९ विकेटले पराजित गर्दै विश्व क्रिकेटमै ठूलो हलचल मच्चाएको छ। यो बंगलादेशको अस्ट्रेलियामा पहिलो टेस्ट जित हो।
अस्ट्रेलियाविरुद्ध तेस्रो प्रयासमा प्राप्त यो जित अझ विशेष छ, किनकि २३ वर्षपछि पहिलोपटक बंगलादेशले अस्ट्रेलियाको भूमिमा टेस्ट खेलेको थियो। नौ वर्षअघि घरेलु मैदानमा पनि बंगलादेशले अस्ट्रेलियालाई टेस्टमा हराएको थियो, तर डार्विनको जित भने पूर्ण रूपमा एकतर्फी रह्यो। विश्व नम्बर १ टोली मानिएको अस्ट्रेलियालाई बंगलादेशले शानदार ढंगले पराजित गर्यो।
दोस्रो इनिङ्समा अस्ट्रेलिया २८४ रनमै अलआउट भएपछि बंगलादेशले चौथो दिनको अपराह्न ५७ रनको लक्ष्य पाएको थियो। मोमिनुल हकले स्थानीय समयअनुसार दिउँसो २स्३६ बजे विजयी रन प्रहार गरे। त्यससँगै खेलाडी र सपोर्ट स्टाफसँगै थोरै संख्यामा मैदानमा उपस्थित बंगलादेशी समर्थकहरूका लागि पनि पूरा दिन उत्सव मनाउने अवसर बन्यो। लगभग खाली रहेको मरारा ओभलमा ती समर्थकहरूले पनि जितको खुसीमा निकै ठूलो आवाज निकाले।
यो जित बंगलादेशका लागि ऐतिहासिक क्षण हो, विशेषगरी राजनीतिक कारणले उनीहरूले यसै वर्ष टी–२० विश्वकप गुमाएको अवस्थामा। तर मार्चदेखि बंगलादेशले लगातार प्रभावशाली प्रदर्शन गर्दै आएको थियो, जसको चरम उत्कर्ष डार्विनमा प्राप्त यो अविश्वसनीय टेस्ट जित बन्यो।
हसन महमुदले खेलमा ९ विकेट लिए भने तान्जिद हसनले आफ्नो टेस्ट करियरकै पहिलो शतक प्रहार गरे। खेलको पछिल्लो चरणमा मेहदी हसन मिराजले अर्धशतकसँगै पाँच विकेट लिए। कप्तान नजमुल हुसैन शान्तोले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्नुका साथै कप्तानीमा पनि टोलीलाई प्रभावशाली रूपमा नेतृत्व गरे।
यो जित अझ अविश्वसनीय बन्नुको मुख्य कारण खेलअघि बंगलादेशको खराब तयारी र फर्म थियो। टेस्टभन्दा एक साताअघि ऋब् ह्क्ष् विरुद्धको अभ्यास खेलमा बंगलादेश केवल ५४ रनमा अलआउट भएको थियो। त्यसमाथि घाइते नहिद रानाको अनुपस्थितिलाई लिएर पनि ठूलो बहस भइरहेको थियो।
तर मैदानमा पुगेपछि बंगलादेशका बलरहरूले दुवै इनिङ्समा अस्ट्रेलियालाई ३०० रनभन्दा कममै अलआउट गरे। कमजोर देखिएको बंगलादेशी ब्याटिङ लाइनअपले पनि दबाबका बीच गज्जबको धैर्य र दृढता देखायो। परिणामस्वरूप, विश्वको नम्बर १ टोलीविरुद्ध बंगलादेशले टेस्ट क्रिकेटकै सबैभन्दा सम्झनलायक जितमध्ये एक हात पार्यो।

बंगलादेशको अन्तिम जितको आधार भने तेस्रो दिनको अपराह्नमै तयार भएको थियो। पहिलो इनिङ्समा बंगलादेशले अस्ट्रेलियाविरुद्ध २२८ रनको विशाल अग्रता बनाएको थियो। हसन महमुदले ओपनर जेक वेदराल्ड र ट्राभिस हेडलाई इनसाइड एज लागेर बल्ड गराउँदै पभेलियन फर्काए। औँलाको चोट बोकेर खेलिरहेका तैजुल इस्लामले मार्नस लाबुस्चेनलाई अलमल्याउँदै बलको लाइनमा चुकाए र बोल्ड गरे। त्यसपछि मेहदी हसनले स्टिभ स्मिथलाई ४४ रनमा क्याच एन्ड बोल्ड गरेपछि बंगलादेशले घरेलु टोलीमाथि दबाब बढेको महसुस गर्यो।
चौथो दिनको बिहान मेहदीले लगातार डट बल फ्याँक्दै आफ्नो छेउबाट रन बनाउन कठिन बनाए। अन्ततः एलेक्स केरी गलत लाइनमा सट खेल्दा ३० रनमा विकेट पछाडि क्याच आउट भए। यही विकेट बंगलादेशका लागि आवश्यक सुरुवात बन्यो।
त्यसपछि मेहदीले बिउ वेब्स्टरलाई बल अफ स्टम्पबाट बाहिरतर्फ ड्रिफ्ट गराए र बलले उनको अफ स्टम्प उडायो। प्याट कमिन्स इनसाइड एज लागेर सर्ट लेगमा क्याच भए, जहाँ शादमान इस्लामले उत्कृष्ट क्याच लिए। लन्चपछि तस्किन अहमदले मिचेल स्टार्कलाई आउट गरे। त्यसपछि भने क्यामरन ग्रीनले आफ्नो तेस्रो टेस्ट शतक पूरा गर्दै अस्ट्रेलियालाई केही राहत दिए। उनले १०४ रनको बलियो इनिङ्स खेले, तर अर्को छेउबाट पर्याप्त साथ पाउन सकेनन्।
अन्ततः महमुदले ग्रीनलाई पनि पभेलियन फर्काए। उनले भित्रतर्फ आउने बललाई तल राख्दै ग्रीनको इनसाइड एज निकालेर अस्ट्रेलियाका नम्बर ५ ब्याटरलाई बोल्ड गरे। त्यसपछि मेहदीले नाथन लायनलाई एलबीडब्ल्यू आउट गर्दै इनिङ्स समाप्त गरे। यो मेहदीको विदेशमा टेस्ट क्रिकेटमा तेस्रो पाँच विकेटको प्रदर्शन थियो।
तर बंगलादेशको यो विशाल जितको आधार निकै पहिल्यै तयार भइसकेको थियो। पहिलो दिन हसन महमुदले आफ्नो करियरकै उत्कृष्ट ६र५५ को प्रदर्शन गर्दै अस्ट्रेलियालाई केवल १९८ रनमा अलआउट गरेका थिए। त्यसपछि आफ्नो करियरको दोस्रो टेस्टमै तान्जिद हसनले पहिलो टेस्ट शतक प्रहार गर्दै बंगलादेशलाई उत्कृष्ट सुरुवात दिलाए। कप्तान नजमुल हुसैन शान्तोले पनि ८४ रन बनाए। तान्जिदले मोमिनुल हक र शान्तोसँग महत्वपूर्ण साझेदारी गरे भने पछि मुश्फिकुर रहिम र शान्तोले थप रन जोड्दै बंगलादेशको स्कोर बलियो बनाए।
अस्ट्रेलियाले दोस्रो नयाँ बल लिएपछि लगातार तीन विकेट निकाल्दै खेलमा फर्कने प्रयास गर्यो। तर त्यसपछि मेहदी हसनले पुच्छरका ब्याटरहरूसँग मिलेर ५२।३ ओभरसम्म ब्याटिङ गर्दै महत्वपूर्ण अर्धशतक बनाए। उनको यो संघर्षले अस्ट्रेलियालाई अपेक्षा गरेभन्दा धेरै समय मैदानमा राख्यो। अस्ट्रेलियाले पाँचवटा क्याचसमेत छोड्यो, यद्यपि जोस हेजलवुडले ६ विकेट लिए।
बंगलादेशको ४२६ रनको विशाल स्कोर नै निर्णायक साबित भयो। पहिलो इनिङ्समा २२८ रनले पछि परेपछि अस्ट्रेलियामाथि दबाब बढ्यो र दोस्रो इनिङ्समा पनि उनीहरू त्यही दबाबमा धराशायी भए। अन्ततः बंगलादेशले अस्ट्रेलियालाई ९ विकेटले हराउँदै आफ्नो क्रिकेट इतिहासकै सबैभन्दा अविस्मरणीय टेस्ट जितमध्ये एक दर्ता गर्यो।
