दोस्रो खेलमा ७ विकेटको जितसँगै भारतले जित्यो अफगानिस्तानविरुद्धको टि-२० सिरिज

16 Sep, 2026
Share:
117 Shares

दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा सम्पन्न दोस्रो टी–२० खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै भारतले ३ खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको छ।

खेलमा श्रेयस अय्यरले टोस जितेर अफगानिस्तानलाई पहिले ब्याटिङको निम्तो दिएका थिए। भारतीय बलरहरूको कसिलो बलिङसामु अफगानिस्तानले निर्धारित ओभरमा १५९ रन मात्र बनाउन सक्यो।

अफगानिस्तानका लागि कप्तान इब्राहिम जद्रानले ३७ रन बनाए भने अन्त्यतिर राशिद खानले १६ बलमा २८ रन जोडे।

भारतका लागि जसप्रीत बुमराहले पहिलो ओभर मेडन फाल्दै उत्कृष्ट सुरुवात दिलाएका थिए भने अर्शदीप सिंहले रहमानुल्लाह गुरबाजलाई शून्यमै आउट गरे। यस्तै नीतिश कुमार रेड्डीले ३ विकेट लिए भने चोटग्रस्त वरुण चक्रवर्तीको स्थानमा टोलीमा आएका रवि बिश्नोई र अक्षर पटेलले पनि सफलता हासिल गरे।

१६० रनको लक्ष्य भारतले मात्र १४।५ ओभरमा सहजै पूरा गर्‍यो। भारतका लागि अभिषेक शर्माले १९ बलमा ३९ रन बनाए भने सञ्जु स्याम्सनले मात्र २१ बलमा ५७ रनको आक्रामक पारी खेले। त्यसपछि इशान किशनले कुनै संकट आउन नदिई टोलीलाई जित दिलाए।