सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

नेपालको लगातार दोस्रो जित, बलरहरू चम्किँदा ओमानलाई ११३ रनले हरायो

ओमानमा जारी आईसिसी विश्वकप लिग २ को सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ।

नेपाली बलरहरूले शानदार प्रदर्शन गरेपछि नेपालले घरेलु टोली ओमानमाथि ११३ रनको सानदार जित निकाल्यो।

नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान नेपाली बलरहरुले घातक बलिङ गरेपछि ४० ओभरमा १५० रनमै अलआउट भयो।

ओमानका लागि कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए पनि अन्य ब्याट्म्यानले गतिलो योगदान दिन सकेनन्।

ओमानको इनिङ धरासायी बनाउने क्रममा नेपालका नन्दन यादवले ६ ओभरमा १२ रन दिएर ३ विकेट लिए। यस्तै, कप्तान सन्दीप लामिछानेले ९ ओभरमा २८ रन दिएर ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले समान १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको थियो। नेपालका रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए । ६७ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे।

करण केसीले अन्त्यतिर १६ बलमा ४० रनको आक्रामक पारी खेले। उनले ४९औं ओभरमा हस्नेन शाहलाई लगातार तीन छक्का प्रहार गरे भने अन्तिम ओभरमा शाह फेसललाई पनि एक छक्का प्रहार गरेका थिए।

अर्जुन कुमालले ४०, बसिर अहमद र इशान पान्डेले समान ३७ रन बनाए। दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए।

ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले समान २ विकेट लिए।

जितपछि अंकतालिकामा छैटौं स्थानमा पुगेको छ। नेपालको ३४ खेलबाट २८ अंक भएको छ। ओमान ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ। नेपालले अब अर्को खेलमा आगामी शनिबार क्यानडासँग खेल्नेछ।

1.3Kशेयर