च्याम्पियन्स लिगमा इटालियन क्लब इन्टर मिलान खराब लयमा छ। च्याम्पियन्स लिगमा ऊ लगातार चार खेलमा पराजित भएको छ। यस्तो भएको इन्टरको इतिहासमै पहिलो पटक हो।
सोही क्रममा इन्टर मिलान मंगलबार राति भएको खेलमा सानसिरोमै बेल्जियमको क्लब ब्रुगसँग ४–३ले पराजित भयो। ऊ अघिल्लो सिजनको अन्तिम २ र यो सिजनको पहिलो खेलमा पनि पराजित भएको थियो।
खेलमा ब्रुगका लागि निकोलो ट्रेसोल्डीले ह्याट्रिक गरे भने रोमेयो भेर्मन्टले पनि गोल गरे। यता, इन्टरका कप्तान लाउटारो मार्टिनेजले २ तथा एंग योआन बोनीले गोल गरे।
इन्टर मिलानसँगै अर्को इटालियन क्बल पनि पराजित भयो। मंगलबार राति भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा नापोली भिल्लारियलसँग ३–१ले पराजित भयो।
भिल्लारियलको जितमा जर्जेस मिकाउटाड्जे, सान्टियागो मौरिनो र तानी ओलुवासेयीले समान एक(एक गोल गरे । नापोलीका लागि अमिर रहमानीले एक गोल गरे ।
