एट्लेटिको मड्रिडका स्ट्राइकर जुलियन अल्भारेजसँग सम्पर्क गर्नुअघि क्लबलाई लिखित जानकारी नदिएको भन्दै स्पेनिस फुटबल संघले बार्सिलोनालाई ६ सय २ युरो जरिवाना गरेको छ।
एट्लेटिकोले ला लिगाको प्रतिस्पर्धी क्लब बार्सिलोनाले अर्जेन्टिनी फरवार्ड अल्भारेजसँग आफूलाई जानकारी नदिई सम्पर्क गरेको भन्दै उजुरी दिएको थियो।
बार्सिलोनाले अल्भारेजलाई अनुबन्ध गर्ने विषयमा चासो देखाएको आरोप लागे पनि २६ वर्षीय खेलाडी एट्लेटिकोमै छन्। उनको सम्झौता सन् २०३० को जुनसम्म कायम छ । एट्लेटिकोले यस विषयमा फिफामा समेत उजुरी गरेको थियो । तर, फिफाले यस मामिलामा आफ्नो क्षेत्राधिकार नपर्ने भन्दै कारबाही गर्न अस्वीकार गरेको थियो।
यस सिजन एट्लेटिकोका समर्थकबाट पटक–पटक आलोचना र हुटिङको सामना गरेका अल्भारेजले शनिबार डेपोर्टिभो ला कोरुनाविरुद्ध निर्णायक गोल गरेका थिए। त्यसपछि केही समर्थकले उनलाई उभिएर सम्मानसमेत गरेका थिए।
खेलपछि अल्भारेजले समर्थकसँग माफी माग्दै बार्सिलोना जाने इच्छा व्यक्त गर्दै अन्तर्वार्ता दिनु गल्ती भएको स्वीकार गरेका थिए।
