चीनमा हुने बेल्ट एण्ड रोड सिरिज खेल्न जाने नेपाली राष्ट्रिय यू–१९ महिला टिमको बिदाई गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रम गर्दै सोनी पाख्रिनको कप्तानीमा रहेको नेपाली टोलीलाई बिदाइ गरेको हो।
आईसीसी महिला यू–१९ विश्वकपको तयारीमा रहेको नेपाली यू–१९ टोलीले चीनमा सिरिज खेल्न लागेको हो।
यही नोभेम्वर ३ देखि ८ सम्म सञ्चालन हुने बेल्ट एण्ड रोड सिरिजमा आयोजक चीन, नेपाल, हङकङ र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । चीनमा सिरिज खेलपछि नेपाली यु–१९ महिला टोलीले भारतमा गएर अर्को सिरिज खेल्नेछ।
सोनी पाख्रिनको कप्तानीमा रहेको १५ सदस्यीय टोलीमा रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टिका शाह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनिषा चौधरी, आशिकाकुमारी महरा, अनु कडायत, मनिषा कुमारी उपाध्याय, सना प्रविण, अलिशा कुमारी यादव र तिर्सना विश्वकर्मा छन्।
आईसीसी यू–१९ महिला विश्वकप २०२७ जनवरी २१ देखि फेब्रुअरी ६ सम्म नेपाल र बंगलादेशले संयुक्त रुपमा आयोजना गर्दैछ।
