बलरहरूले कसिलो बलिङ गरेको पछि जारी नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ।
सोमबार भएको दोस्रो खेलमा सूदुरपश्चिमले चितवन राइनोजमाथि ५ विकेटको जित निकाल्यो।
टियू मैदानमा चितवनले दिएको १३० रनको झिनो लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। उसका लागि ब्रान्डन म्याकमुलनले २१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ४३ रन बनाए। उनले क्रिजमा आउनेबित्तिकै रिजन ढकाललाई एकै ओभरमा ३ चौका र १ छक्का प्रहार गरे ।
यस्तै, इशान पाण्डे २९ बलमा २५, शेरफान रदरफोर्डले २१ र आरिफ सेखले २० रन बनाए।
बलिङमा चितवनका रञ्जित कुमारले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए भने रिजन र मौसम ढकालले समान १ विकेट लिए।
सिकन्दर राजाको कप्तानमा मैदान उत्रिएको चितवनले ६ विकेटको क्षतिमा १२९ रन मात्र बनाउन सकेको थियो।
उसका रवि बोपारले सर्वाधिक ४९ रन बनाए । चौथो नम्बरमा ब्याटिङ गरेका बोपाराले ४० बलमा ३ चौका र २ छक्का प्रहार गरे। यस्तै, विवेककुमार यादवले १७, डाविड मालान, अर्जुन साउद र कप्तान सिकन्दर राजाले समान १५ रन बनाए।
बलिङमा सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले २ तथा हेमन्त धामी, कप्तान दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले समान १ विकेट लिए।
एनपीएलमा मंगलबार पनि दुई खेल हुनेछ। पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेल लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच भीड्ने छन्।
