सामग्रीमा जानुहोस्
बिहिबार, कात्तिक १९, २०८३

कोमोको कीर्तिमानी जित, लेन्सको पोस्टमा ठोक्यो ९ गोल

इटालियन क्लब कोमोले च्याम्पियन्स लिगमा कीर्तिमानी जित निकालेको छ। बुधबार राति भएको खेलमा कोमोले फ्रान्सेली क्लब लेन्सलाई ९–१ को फराकिलो अन्तरले हरायो।

यो जितसँगै कोमो च्याम्पियन्स लिग इतिहासकै अवेमा सर्वाधिक गोल गर्ने टिम बनेको छ भने फराकिलो अन्तरको जित र सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बराबरी गरेको छ। प्रतियोगितामा यसअघि लिभरपुल र रियल म्याड्रिडले घरेलु मैदानमा ८–० को जित निकालेका थिए।

बुधबार राति भएको खेलमा अनास्तासियोस डुभिकासले सातौं र ३२औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। निको पाजले ४०औं मिनेटमा गोल गरे।

दोस्रो हाफमा पनि कोमोको आक्रमण रोकिएन। लुकास डा कुन्हाले ४७औं, म्याक्सेन्स केम्पफले ५३औं, माटेओ लिबेरालीले ६२औं र मार्टिन बटुरिनाले ६९औं मिनेटमा गोल गरे। डुभिकासले ५७औं मिनेटमा गोल गर्दै ह्‍याट्रिक पूरा गरे। माटेओ पापाचोलीले इन्जुरी समयमा नवौं गोल थपे।

लेन्सका लागि रुबेन अगुइलारले ६५औं मिनेटमा एक गोल फर्काए।

यस जितसँगै कोमोले च्याम्पियन्स लिगमा एकै खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेको छ । यसअघि जर्मन क्लब बायर्न म्युनिखले सन् २०२४ मा डिनामो जाग्रेबविरुद्ध ९ गोल गरेको थियो।

सेस्क फाब्रेगासको प्रशिक्षणमा रहेको कोमोको युरोपेली यात्रा पनि उल्लेखनीय बनेको छ। टोलीले आरबी लाइपजिग र म्यानचेस्टर युनाइटेडलाई हराइसकेको छ । फेयेनोर्डसँगको हारबाहेक उत्कृष्ट प्रदर्शन गर्दै आएको कोमो यो जितपछि लिग चरणको तालिकामा चौथो स्थानमा उक्लिएको छ।

सेयर गर्नुहोस्

91Shares