शनिबार न्युक्यासल युनाइटेडसँग २–२ गोलको बराबरी खेलेपछि आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा गोलकिपर डेभिड रायाको फिटनेसलाई लिएर चिन्तित बनेका छन्। खेलका क्रममा चोटको समस्या देखिएपछि रायाले मैदान छाड्नुपरेको थियो।
सेन्ट जेम्स पार्कमा विलियम ओसुलासँगको ठक्करपछि बायाँ हात समात्दै असहज देखिएका रायालाई खेलको ७०औँ मिनेटमा केपा अरिजाबालागाले प्रतिस्थापन गरेका थिए।
रायाले मैदान छाड्दासम्म हार्भी बार्न्स र मालिक थियावको गोलमा न्युक्यासलले एबेरेची एजेले ३३औँ मिनेटमा गरेको गोलको अग्रता उल्ट्याउँदै २–१ को अग्रता बनाइसकेको थियो।
तर खेल सकिन १२ मिनेट बाँकी रहँदा नोनी माडुकेले गोल गर्दै आर्सनललाई बराबरीमा फर्काए। यससँगै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले दोस्रो स्थानको ब्राइटनसँग ६ अंकको अग्रता कायम राखेको छ।
यद्यपि, लिगमा यस सिजन सर्वाधिक सात क्लिन सिट राख्ने गोलकिपरमध्ये एक रहेका रायाको चोटले आर्टेटालाई चिन्तित बनाएको छ। उनले ब्राइटनका बार्ट भेरब्रुगेनसँगै सात क्लिन सिट राखेका छन्।
आर्सनलले मंगलबार च्याम्पियन्स लिगमा बोरुसिया डर्टमन्डसँग खेल्नेछ भने त्यसको पाँच दिनपछि एमिरेट्स स्टेडियममा एन्जो मारेस्काको म्यानचेस्टर सिटीलाई आतिथ्यता गर्नेछ।
‘दुर्भाग्यवश, उनले मैदान छाड्नुपर्यो, जुन कहिल्यै राम्रो खबर होइन। अब उनको अवस्थाको परीक्षण गरिनेछ,’ रायाको चोटबारे आर्टेटाले भने, ‘सम्भवतः भोलि उनको एमआरआई स्क्यान गरिनेछ, जसबाट चोटको वास्तविक अवस्था थाहा हुनेछ। अहिले मलाई यसबारे केही थाहा छैन।’
आर्सनलले यस बराबरीसँगै प्रिमियर लिगमा लगातार २१ खेलसम्म बराबरी नगरेको शृङ्खलाको अन्त्य गरेको छ। टोलीले फेब्रुअरीमा उल्भ्ससँग २–२ को बराबरी खेलेयता १८ जित र तीन बराबरीको नतिजा निकालेको थियो।
दोस्रो हाफमा निकै प्रतिस्पर्धात्मक बनेको खेलमा अपेक्षित गोलका आधारमा न्युक्यासलले सामान्य अग्रता बनाएको थियो। पहिलो हाफमा न्युक्यासलले केवल तीन प्रहार गरेको थियो, जसमा कुनै पनि पोस्टको सही दिशामा थिएन। विपक्षीको पेनाल्टी क्षेत्रमा एकपटक मात्र बल छोएको न्युक्यासलले ४६ प्रतिशत द्वन्द्व जितेको थियो। त्यस अवधिमा आर्सनलले ११ प्रहार गरेको थियो, जसमध्ये तीन पोस्टको सही दिशामा थिए।
दोस्रो हाफमा भने न्युक्यासलले नौ प्रहार गर्यो, जसमा तीन पोस्टको सही दिशामा थिए। विपक्षीको पेनाल्टी क्षेत्रमा १४ पटक बल छोएको न्युक्यासलले ५२।५ प्रतिशत द्वन्द्व जित्यो। यस अवधिमा आर्सनलले केवल दुई प्रहार गरेको थियो, जसमध्ये एक पोस्टको सही दिशामा थियो।
पहिलो हाफमा आर्सनलले धेरै अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसकेकोमा आर्टेटाले निराशा व्यक्त गरे। उनले भने, ‘मेरो महसुस के छ भने आज हामीले दुई अंक गुमायौँ। म ‘हामी’ भनिरहेको छु, किनभने पहिलो हाफमा हाम्रो प्रदर्शन असाधारण थियो।’
