सामग्रीमा जानुहोस्
बिहिबार, मंसिर १०, २०८३

नेपालकाे फेरि खराब ब्याटिङ, पाकिस्तानसँग ९३ रनले पराजित

नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ। मंगलबार भएको अन्तिम खेलमा पाकिस्तानविरुद्ध खराब ब्याटिङ गर्दै नेपाल ७२ रनमा अलआउट भएसँगै नेपाल ९२ रनले पराजित भयाे।

पाकिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमा अलआउट भयो। ओपनर मयन यादवले सर्वाधिक ४१ रन बनाएपनि अन्यबाट उल्लेख्य योगदान हुन सकेन । ५० बल खेलेका उनी अन्तिम विकेटका रूपमा आउट भए।

मयनपछि बसिर अहमदले ११ रन बनाए । अन्यको दोहोरो अंकमा रन बन्न सकेन। ६ जना शून्यमै आउट भए। पाकिस्तान शाहीन्सका लागि मोहम्मद हस्नेन र सुफ्या मोकिमले ३-३ विकेट लिए भने इमरान रान्धवाले २ तथा माज सदाकतले १ विकेट लिए ।

त्यसअघि रासिद खानले लिस्ट ए करियरमा पहिलो ५-विकेट प्रदर्शन गर्दा नेपालले पाकिस्तान शाहीन्सलाई १६८ रनमा अलआउट गरेको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४२ ओभरमा १६८ रनमा अलआउट भएको थियो । रोहेल नाजिर ८३ बलमा ६४ रन बनाएर नटआउट रहे। हसन नवाजले २८ रन बनाए। अहमद दनियालले १६, हेदर अलीले १५ तथा माज सदाकत र अब्दुल समदले समान १३ रन बनाए ।

नेपालका लागि रासिदले ८ ओभरमा ३९ रन दिएर ५ विकेट लिए। लिस्ट ए डेब्यू गरेका अभिशेष गौतमल २ तथा कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले १-१ विकेट लिए।

नेपालले पहिलो खेलमा भारतसँग ३०६ रनको फराकिलो हार बेहोरेको थियो भने दोस्रो खेलमा यूएईलाई पराजित गरेको थियो।

योसँगै समूह ‘बी’ मा तीनवटै खेल जितेको पाकिस्तान ए समूहविजेताका रूपमा सेमिफाइनल प्रवेश गर्दा भारत ए दोस्रो भएर सेमिफाइनलमा पुगेको छ।

सेयर गर्नुहोस्

1.2KShares